प्रधान सेनापति ट्रफी

प्रधानसेनापति कप: निर्मला र सुनिल विजयी

काठमाडौं । निर्मला थापा र सुनिल सुनार बुधबार प्रधानसेनापति ट्रफी प्रतियोगितामा विजयी भएका छन् ।

भद्रकालीस्थित आर्मी हेडक्वार्टर जंगी अड्डामा बुधबारदेखि सुरु भएको प्रतियोगिताको दौडतर्फ महिला ४ सय मिटर दौडमा श्री राजदल गणकी निर्मला विजय भइन् । उनले निर्धारित दुरी एक मिनेट २.१५ सेकेन्डमा पुरा गरिन् । यस्तै, श्री दुर्गा बक्स गणकी सरस्वती कठायत दोस्रो र श्री नं. १ जगदल गणकी भगवती थापा तेस्रो भइन् ।

यस्तै, पुरुषतर्फ आठ सय मिटरमा श्री भवानी दलका सुनिल विजयी भए । उनले निर्धारित दुरी एक मिनेट ५७.१० सेकेन्डमा पुरा गरे । यस्तै, श्री काली बहादुर गणका बुद्धराम तामाङ उपविजेता र श्री चण्डीदल गणका सुदीप शाह तेस्रो भए ।

बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटनमा बोल्दै उपरथी तथा सैनिक तालिम महानिर्देशक सीताराम खड्काले नेपालमा उत्कृष्ट तथा क्षमतावान् खेलाडीहरु तयार गर्ने उद्देश्यसहित वि.सं २०६५ सालदेखि ‘प्रधानसेनापति ट्रफी’ प्रतियोगिता सञ्चालन गर्न थालिएको जानकारी गराए ।

वैशाख दुई गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, सुटिङ, फुटबल, एथलेटिक्स, भलिबल र बास्केटबल गरी ९ खेलहरु हुनेछन् । प्रतियोगितामा नेपाली सेनाका चार कमाण्ड र ६ वटा बाहिनी अड्डा गरी २४ टिम सहभागी छन् ।