एनएसजेएफ

एनएसजेएफ पल्सर अवार्ड चैतमा: यसपाली दशकको मुल्यांकन, युवा विधा हट्यो

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १८औं संस्करण आगामी चैतको ८ गते हुने भएको छ । नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको सबभन्दा प्रतिष्ठित यो अवार्डमा यसपाली एक वर्षको नभई पछिल्लो एक दशकको प्रदर्शनको मुल्यांकन गरिने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कोभिड १९ महामारीका कारण विगतको तुलनामा ढिलो गरी गरिन लागेको कार्यक्रममा पनि महामारीको अशर देखिने मञ्चका महासचिव प्रज्जवल ओलीले जानकारी गराए ।

‘कोरोना महामारीका कारण खेलकुदका प्रतियोगिताहरू कमै मात्र आयोजना भएको सर्वविदितै छ । गत वर्ष कोराना महामारीकै बीच सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा टोकियो ओलम्पिक जापानमा आयोजना भयो । जहाँ नेपाली खेलाडीहरूले सहभागिता जनाएका थिए । त्यसबाहेक अन्तर्राष्ट्रिय मञ्चमा खेलकुदका छिटपुट प्रतियोगिताहरू मात्र भए,’ महासचिव ओलीले भने, ‘ । यद्यपि खेलाडीको मनोबल घट्न नदिन अवार्डलाई निरन्तरता दिन लागिपरेका छौं । विगतमा विभिन्न विधामार्फत खेलाडीहरूले वर्षभर गरेको प्रदर्शनलाई आधार मान्दै अवार्ड प्रदान गर्दै आएका थियौं । यसपालीको स्वरुप फरक हुन गइरहेको जानकारी गराउन चाहन्छौं । यसपालीको अवार्ड दशक अवार्ड हुनेछ । अर्थात हामी इतिहासलाई यो वर्ष सम्झिनेछौं ।

वार्षिक अवार्डलाई दशक अवार्डको रुप दिइएसँगै यसपाली सर्वोत्कृष्ट दशक खेलाडी पुरुष र महिला तथा सर्वोत्कृष्ट दशक प्रशिक्षक सम्मानित हुनेछन् । पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड,. एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र समर्थकको मतका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्डले भने प्रत्येक वर्ष झै यसपाली पनि निरन्तरता पाउनेछन् । दशक अवार्ड भएका कारण सर्वोकृष्ट युवा खेलाडीको विधा भने यो वर्ष समावेश नगरिएको कार्यक्रममा जानकारी गराइयो ।

अवार्ड घोषणा कार्यक्रमकै अवसरमा मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि र मञ्चबीच सम्झौता पनि भएको छ । मञ्चका अध्यक्ष दुुर्गानाथ सुवेदी (देवेन्द्र)ले विगत वर्षका अन्य सबै प्रायोजकहरुसँगको सहकार्य पनि निरन्तर रहने जानकारी गराए ।

‘हामीले कठिन अवस्थामा पनि खेलाडीको मनोबल कायम राख्ने उद्देश्यका साथ अवार्डलाई निरन्तरता दिने निर्णय गरेका छौं । यसमा सहकार्यका लागि मञ्च परिवार मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि र अन्य प्रायोजकहरुलाई धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष सुवेदीले भने, ‘प्रत्येक वर्ष हामीले अवार्डलाई फरक ढंगले आयोजना गरिरहेका छौं । यसपाली चाँही अवार्डको स्वरुपमै केही परिवर्तन गरेका छौं । यो कोभिड महामारीका कारण उत्पन्न परिस्थितीको उपज पनि हो । अवार्ड विगतका वर्षहरुमा झै भव्य रुपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौं ।’

दशक खेलाडी पुरुष र महिला, तथा प्रशिक्षकसँगै पिपल्स च्वाइस अवार्ड विधामा पाँच/पाँच खेलाडीको मनोनयन गरिनेछ । मनोनित खेलाडीमध्येबाट विजेताको टुंगो भने कार्यक्रमकै दिन गरिने मञ्चले जनाएको छ । मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षकको छनोट कार्य सुरु गरिसकेको पनि जानकारी गराइयो । यसैगरी पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको पनि कार्यक्रमकै दिन घोषणा गरिनेछ । पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिने बताइयो । 
 
दशक खेलाडी पुरुष र महिला तथा प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जानकारी गराएको छ ।

कोभिड महामारीका कारण गतवर्ष अवार्ड सेमिभर्चुअल रुपमा भएको थियो ।