नेपाली फुटबल

युवा टोली आज ढाका प्रस्थान गर्दै

काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसिमा सहभागी हुन नेपाली टोली बुधबार (आज) बंगलादेश राजधानी ढाका प्रस्थान गर्दैछ । ३० सदस्यीय नेपाली टोली मध्याह्न १२ बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।

ढाका जाने टोलीमा २३ खेलाडी छन् भने सात अफिसियल रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक कार्यक्रमकाबीच टोलीलाई बिदाइ गरेको थियो ।

प्रतियोगिता फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले फेब्रुअरी ३ मा आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल पाँच फेब्रुअरी भुटानसँग र सातमा भारतसँग खेल्नेछ ।

टोलीको मुख्य प्रशिक्षकमा यम गुरुङ छन् । ढाका उड्नुअघि उनले प्रतियोगितामा भारत र बंगलादेश बलियो प्रतिद्वन्दी भएपनि नेपालले उपाधिको लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।

नेपाली टोलीका कप्तान प्रीति राईसहित दीपा शाही र अमिषा कार्कीले सिनियर टोलीबाट डेब्यु गरिसकेका छन् । अधिकांश सदस्यले नेपालको यु १७ र यु १९ टोलीबाट खेलिसकेका छन् ।

नेपाली टोलीः 
गोलकिपरः सावित्री किशन, कविता विक, लिला जोशी
रक्षकः सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः प्रीती राई (कप्तान), तुलसा बोहरा, कुसुम खतिवडा, दीपा शाही, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई,  अञ्जली माचामासी, सरस्वती हमाल,
स्ट्राइकरः अमिषा कार्की, गरिमा राई, ममता पुन, अञ्जली चन्द