चेल्सी

एन्जोलाई कीर्तिमान मुल्य खर्चगर्न चेल्सी तयार

काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजलाई बेलायतको कीर्तमानी मुल्य खर्चगर्न इङ्लिस प्रिमियर लिगको क्लब चेल्सी तयार भएको छ ।

चेल्सी पोर्चुगिज क्लब बेन्फिकालाई एक सय २१ मिलियन युरो तिर्न सहमत भएको छ । सन् २०२१ मा म्यानचेस्टर सिटीले ज्याक ग्रेअलिसलाई एक सय मिलियन युरो तिरेको थियो ।

त्यसअघि इन्टर मिलानबाट चेल्सीले नै रोमेलु लुकाकुको लागि ९७.५ मिलियन युरो खर्च गरेको थियो । एन्जो कतार विश्वकपको युवा खेलाडी घोषित भएका थिए । एन्जोको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन भएको थियो ।

२२ वर्षिय फर्नान्डेजले सन् २०२२ मा रिभर प्लेटबाट बेन्फिका आएका थिए । बेन्फिकाका लागि उनले १७ लिग खेलमा एक गोल गरेका छन् । एन्जो अनुबन्धमा अर्काे इङ्लिस क्लब लिभरपुल र ला लिगाको क्लब रियाल मड्रिडले पनि इच्छा देखाएका थिए ।

एन्जोलाई चेल्सीले आधिकारीक रुपमा अनुबन्ध भने गरेको छैन । यदपि बेन्फिकाले घोषणा गरिसकेको छ । एन्जोको आगमनसँगै चेल्सी लयमा फर्कने अनुमान गरिएको छ ।

हाल चेल्सी लिगको दशौं स्थानमा छ । २० खेलमा २९ अंक जोडेको छ । चेल्सीले बिहीबार राति फुलहमसँग खेल्दैछ । यसैसिजन चेल्सीले एट्लेटिको मड्रिडबाट जोआओ फेलिक्सलाई लोनमा अनुबन्ध गरेको छ ।