नेपाली क्रिकेट

काठमाडौंमा त्रिदेशीय शृंखला (यस्ता छन्–बोर्ड बैठकका निर्णय)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त शृंखलाअन्तर्गत नेपालले स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ । उक्त शृंखलाका लागि नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई र व्यवस्थापकमा विनयी राजभण्डारीलाई जिम्मेवारी सुम्पिएको छ ।

पोखरामा बसेको बैठकले विश्व क्रिकेट लिग–२ अन्तर्गत नै संयुक्त अरब इमिरेट्स (युएईं) मा फेब्रुअरी २७ देखि मार्च ६ सम्म शृंखला खेल्नका लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप) सँग स्विकृति माग्ने निर्णय गरेको क्यानको स्रोतले जानकारी दियो । यस शृंखलामा नेपालले युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । त्यस्तै क्यानको बोर्ड बैठकले पूर्वकप्तान सन्दीप लामिछाने माथिको निलम्बन पनि फुकुवा गरेको छ ।

राष्ट्रिय पुरुष तथा महिला खेलाडीको केन्द्रीय करार सम्झौताका लागि क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकको नेतृत्वमा रहेको दीपेन्द्र चौधरी र विनोद दास सम्मिलित तीन सदस्यीय समितिको सिफारिस अनुसार आगामी सन् २०२३ को जनवरीदेखि जुनसम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीको करार गर्ने क्यान बैठकले निर्णय गरेको छ ।

बोर्ड बैठकले मुख्य १७ वटा विषयमा छलफल गरेको थियो । गण्डकीका दुई जिल्ला संघलाई मान्यता दिने विषयमा समेत छलफल भएको छ । पर्वत र बागलुङ जिल्ला संघलाई मान्यता प्रदान गर्ने सम्बन्धमा छलफल गर्दै संघको मान्यता दिने निर्णय गरेको छ । यसअघि गण्डकी प्रदेशमा तनहुँ, कास्की, स्याङ्जा र नवलपुरले मात्रै संघको मान्यता पाएका थिए ।

नेपालको यु–१९ टोलीको कप्तानमा गुल्सन  झा तथा उपकप्तानमा  दिपेश कँडेलाई  चयन गर्ने क्यानको बोर्ड बैठकले निर्णय गरेको छ ।

तीन सदस्यीय समितिको सिफारिस अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीको करार सम्झौता गर्ने क्यान बैठकले निर्णय गरेको छ ।