बंगलादेश र नेपालबीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौं, (खेलाडी)-  बगलादेशविरुध्दको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपाल सुरु देखि नै आक्रामक रुपमा प्रस्तुत भएको थियो । 

त्यसोत खेल सुरु भएको छैटौं मिनेटमा बंगलादेशले गोलको राम्रो अवसर बनाएको थियो । तर बंगलादेशकी श्रीमती सरकारले प्रहार गरेको बल गिता रानाले बल क्लियर गरिदिइन । गोलकिपर अन्जना राना मगर र हिराकुमारी भुजेलबीच तालमेल नमिलेको मौकामा श्रीमतीले आक्रमणको अवसर पाएकी थिइन ।

नेपालको तर्फबाट अमृता जैसीले नवाैं मिनेटमा पेनाल्टी बक्सबाट गरेको प्रहार असफल भयो । लगत्तै एक मिनेटपछि सरु लिम्बुको प्रहार पनि सफल भएन ।

मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा प्रिती राईको पासमा विमला चौधरीले गरेको प्रहारले पनि गोलको दिशा लिन सकेन ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ को जित हासिल गरेको थियो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बगलादेशलाई दुई मैत्रीपूर्ण खेल खेल्न काठमाडौं निम्त्याएको हो । 

छनोट प्रतियोगिताअन्तर्गत उज्वेकिस्तानमा हुने समूह 'एफ' मा परेको नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । फिलिपिन्ससँग नेपालले असोज दुई गते प्रतिस्पर्धा गर्नेछ भने त्यसको तीन दिनपछि हङकङसँग खेल्नेछ । 

नेपाली टिम छनोट प्रतियोगिता खेल्नका लागि भोलि (सोमबार) उज्वेकिस्तान जानेछ ।