कुमार थापा

‘हामी प्यास मेट्न चाहन्छौं’

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले विगतका गल्तीहरुलाई सुधार गर्दै यो पटक साफको उपाधि घरमै राख्ने आस व्यक्त गरेका छन् ।

सोमबार राजधानीमा साफ महिला च्याम्पियनसिप अघि भएको प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले तयारी राम्रो भएको बताउँदै उपाधि जित्नेमा टिम आशावादी भएको बताए ।

‘हामीले तयारीका लागि सात हप्ता पाएका थियौं । जुन पाएको समयबाट म सन्तुष्ट छु । टिम राम्रो बनेको छ,’ उनले भने, ‘पुराना गल्तीलाई सुधार गर्दै उपाधि जित्ने हाम्रो पहिलो आधार हो । महिला खेलाडीप्रति रहेको दृष्टिकोणमा परिवर्तन ल्याउने हाम्रो प्रयत्न रहनेछ । हामी तिर्खाएका छौं, प्यास मेट्न चाहन्छौं ।’

मंगलबादेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि नेपाली टिममा समान तीन नयाँ अनुहार र पुराना खेलाडीले पुनरागमन गरेका छन् । नयाँ र पुराना खेलाडीको समायोजनले टिम बलियो भएको थापा बताउँछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार भुटानको सामना गर्दैछ । त्यसका लागि टिम शारीरिक, मानसिक र प्राविधिक रुपमा तयार रहेको थापाले बताए ।

‘हामी भुटानविरुद्धको खेलमा सतप्रतिशत दिदै नतिजा निकाल्ने प्रयास गर्छाै । हामी शारिरीक, मानसिक र प्राविधिक रुपमा तयार छौं,’ उनले भने ।

मुख्य प्रशिक्षक थापाले पूर्व कप्तान रेनुका नगरकोटीको अनुपस्थितिमा गोलकिपर एन्जिला तोम्बापो सुब्बालाई टिमको कप्तानी दिएका छन् । तर, टिमका २३ खेलाडी नै कप्तान सरह रहेकाले यो कुराले केही फरक नपार्ने थापाको भनाई छ ।

‘एन्जिला अनुभवी खेलाडी हुन् । तेस्रो साफदेखि लगातार टिममा रहँदै आएकी छन् । तर, २३ खेलाडी नै हाम्रो लागि कप्तान हुन् । यसले कुनै फरक पार्दैन,’ थापा भन्छन्, ‘हामी प्रतियोगिताका लागि तयार छौं । खेल्ने स्थान फरक भएपनि सबै मुरा एउटै हुन्छ । त्यसैले पहिलो पटक खेल्न थालेपनि त्यसले कुनै असर नगर्ला ।’

पहिलो पटक टिमको जिम्मेवारी पाएकी एन्जिलाले आफ्नो कप्तानीमा नेपाललाईउपाधि जिताउन आतुर रहेको बताइन् ।

‘कप्तान बन्न पाउँदा खुशी छु । हरेक कप्तानको जस्तै मेरो पनि आफ्नो कप्तानीमा उपाधि जिताउने इच्छा छ । त्यसका लागि सतप्रतिशत दिएर खेल्नेछौ, झुक्ने चै छैनौ । हामी गोर्खाली हौं,’ उनले भनिन्, ‘अरुलाई विश्वास होस् नहोस् तर, हामीलाई एक–अर्काप्रति विश्वास छ, जित्छौं ।’