इङ्लिस प्रिमियर लिग

संचारमाध्यममा मेरो भविष्यका बारे झुटा खबर आएः रोनाल्डो

लन्डन । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्ना बारेमा पछिल्लो समयमा आएका खबर सत्य नभएको र छिट्टै आफ्नो भविष्यका बारेमा जारी दुबिधा अन्त्य हुने दाबी गरेका छन् ।

गत सिजन युभेन्टसबाट ओल्ड ट्रफोर्ड फर्किएका रोनाल्डो टोलीले इङलिस प्रिमियर लिगको शीर्ष चारमा स्थान पक्का गर्न नसकेका कारण टोली छोड्ने मनस्थितीमा पुगेका थिए । च्याम्पियन्स लिगमा छनोट नहुनु नै रोनाल्डोले युनाइटेड छोड्न खोज्नुको प्रमुख कारण थियो । उनले क्लबसमक्ष आफूलाई फुकुवा गरिदिन समेत आग्रह गरेका थिए । जुन प्रस्ताव युनाइटेडले अस्विकार गर्दै आएको छ ,।

रोनाल्डोले युनाइटेड छोड्ने बताए पनि उनको अनुबन्धमा भने कुनै पनि क्लब इच्छुक देखिएनन । उनको अनुबन्धमा युभेन्टस, बायर्न म्युनिख, चेल्सी र एट्लेटिको मड्रिड इच्छुक रहेको खबर सार्वजनि नभएका पनि होइनन् तर ती सबै क्लबले सो खबर सत्य नभएको दाबी गरेका थिए ।

प्रि-सिजनमा युभेन्टसविरुद्ध ४-० ले पराजित भएको खेलमा प्रशिक्षक इरिक टेन हागले मैदानबाट बेन्चमा बोलाएको भन्दै रोनाल्डो रुष्ट हुँदै खेल नसकिँदै मैदान छोडेर हिडेका थिए । प्रशिक्षक हागले उनको सो व्यहार राम्रो नभएको प्रतिक्रिया दिएका थिए ।

नयाँ सिजनमा युनाइटेडले गतिलो प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा ब्राइटोनलाई २-१ को नतिजा सुम्पिएको युनाइटेड दोस्रो खेलमा ब्रेन्टफोर्डसँग ४-० ले निराश भएको थियो । पहिलो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रोनाल्डोले दोस्रो खेलमा भने पहिलो रोजाईमा स्थान बनाएका थिए ।

‘पछिल्लो समय मेरो भविष्यका बारेमा सयौं समाचारहरु सार्वजनिक भए । तर ती समाचारमा आएका कुनै पनि कुरा सत्य छैन’,रोनाल्डोले भने, म केही दिनमै मेरो युनाइटेड भविष्यको बारेमा स्पष्ट पार्नेछु ।'