स्पेनिस ला लिगा

रियालको सुखद सुरुआत

मड्रिड । वैकल्पिक खेलाडी डेविड अलावाको फ्रिकिक गोलमा अल्मेरियालाई २-१ ले पराजित गर्दै स्पेनिस ला लिगाको साविकको विजेता रियाल मड्रिडले उपाधि रक्षा लक्ष्यको सुखद सुरुआत गरेको छ ।

अल्मेरियाको घरेलु मैदान पावर हर्स स्टेडियममा रियाल १० मिनेटभित्रै १–० ले पछि परिसकेको थियो । अल्मेरियाका लागि छैटौं मिनेटमा लार्गी रमाजानीले गोल गरेका थिए । 

६१औं मिनेटमा लुकास भाजक्युजले रियाललाई खेलमा फर्काएका थिए । ७४औं मिनेटमा अलावाको फ्रिकिक  गोलमा रियालले तीन अंक पक्का गरेको थियो । अलावा ७४औं मिनेटमै फेरल्यान्ड मेन्डीको स्थानमा मैदान प्रवेश गरेका थिए । 

ला लिगामा अल्मेरियाले रियालविरुद्ध १२ खेलमा मात्र १ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ ।

रियालले दोस्रो खेलमा शनिबार सेल्टा भिगोको भ्रमण गर्ने छ भने अल्मेरियाले इल्चीको भ्रमण गर्नेछ ।