जर्मन बुन्डेसलिगा

मानेको स्तरमा पुग्न अझ मेहनत आवश्यकः डेविस

बर्लिन । बायर्न म्युनिखका अल्फोन्सो डेविसले साडियो मानेको स्तरमा पुग्न आफूहरुले अझ धेरै मेहनत गर्न आवश्यक रहेको बताएका छन् ।

यसै सिजन इङलिस प्रिमियर लिगको क्लब लिभरपुलबाट जर्मन बुन्डेसलिगाको महारथी बायर्न आएका सेनेगलका स्ट्राइकर मानेले यहाँ पनि अभ्यस्त भइसकेका छन् । टोलीको सतप्रतिशत प्रदर्शनमा मानेले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

पहिलो खेलमा फ्रयांकफर्टमाथि ६-१ को जित निकालेको बायर्नले आइतबार दोस्रो खेलमा उल्फ्सबर्गलाई २-० ले हराएको थियो ।

मानेकै प्रेरणा सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो भने विश्वकप छनोट पनि सहजै पार परेको थियो । गत सिजन लिभरपुलले एफए कप र लिग कपको उपाधि जित्दा पनि मानेले प्रभावशाली प्रदर्शन गरेका थिए । जसबाट बायर्नमा उनको टोली सहयात्री उनीबाट धेरै कुरा सिक्न सक्नेमा विश्वस्त छन् ।

‘साडियो माने शीर्ष खेलाडी हुन्,’ डेविसले भने, ‘उनी धेरै मेहनती छन् । उनी यहाँ आउँदा हामी धेरै खुशी छौ । उनीबाट हामीले धेरै सिक्ने अवसर पाउनेमा दुबिधा छैन । उनको स्तरमा पुग्न हामीले अझ मेहनत गर्न आवश्यक छ ।’