मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप

सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतिसँग एनआरटी स्तब्ध

धनगढी । धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमति युवा क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।

बागमतीले ‘ए’ डिभिजन क्लब न्युरोड टीम (एनआरटी) स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गरेको हो । धनगढी रंगशालामा शुक्रबार सम्पन्न खेलमा २–० को अग्रता जोगाउन नसक्दा एनआरटी पेनाल्टीमा ४–३ ले पराजित भयो ।

खेलको ६८औं मिनेटमा एनआरटीका स्टेफेन समीरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ७५औं मिनेटमा समीरले पेनाल्टीमार्फत गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे । दिनेश घलेललाई बगमतिका अभिषेक वाइवाले लडाएपछि एनआरटीले पेनाल्टी पाएको थियो । 
खेलको ८३ औं मिनेटमा बागमतिका लाागि विमल घिसिङले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए । त्यसको दुई मिनेटपछि बागमतीका कप्तान विजय घलानले गोल गरेपछि खेलको निर्धारित समय बराबरीमा सकिएको थियो ।

निर्धारित समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गर्दा सुमन राई पेनाल्टीमा चुके ।

एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर,  आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागमतिका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच चुनिए । उनले नगद १० हजार प्राप्त गरे ।

खेलपछि प्रतिक्रिया दिदैं बागमतिका प्रशिक्षक रोजित केसीले ए डिभिजन क्लबलाई हराउँदा खुशी लागेको बताउँदै कम अनुभवी खेलाडीहरुले उत्कृष्ट खेलेको बताए ।

‘हामी सी क्वालिफाइको तयारीमा रहेका छौं । खेल अनुभवका लागि खेलेका थियौं । खेल जित्छौ की जस्तो लागेको थियो । नजिता पनि हाम्रै पक्षमा आयो, प्रशिक्षक केसीले भने, ‘एनआरटीले पनि राम्रो खेल्यो । हामीले गोल आएपछि विपक्षी टीमका खेलाडी गोल गर्नतिर लागे । हामी नआत्तिएर काउन्टर अट्याकमा गोल गर्ने रणनितिमा खेल्यौं । त्यही नजिताले अघिल्लो चरणमा बढ्यौं ।’

एनआरटीका प्रशिक्षक राजुकाजी श्रेष्ठले भने आफ्नै खेलाडीहरुको गल्तीका कारण दोब्बरको अग्रता बराबरीमा आउदा खेल गुमेको बताए ।

खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्ट छैन । हाम्रा खेलाडीहरुले जुन अनुभव देखाउनु पथ्र्यो त्यो देखाउन सकेनन् ।’ प्रशिक्षक शाक्यले भने–‘हामी खेल जित्नैपर्ने प्रेसरमा थियौं । वागमतिलाई त्यो थिएन । त्यही प्रेसरले दुई गोलको अग्रता जोगाउन सकेनौं । पेनाल्टीमा नतिजा विपक्षीको पक्षमा गयो ।’

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा शनिबार हिमालयन शेर्पा क्लब र जनजागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलकिपर, रक्षक, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।