रुस-युक्रेन तनाव

अन्तर्राष्ट्रिय खेलकुदबाट रुस र बेलारुसलाई अलग्याइँदै

युक्रेनमाथि युद्ध गरिरहेको रुसलाई तह लगाउन अमेरिकासहित पश्चिमा देशहरूले आर्थिक प्रतिबन्धको सहायता लिइरहेका छन् । आफ्नो कमजोर छिमेकीमाथि अत्याचार गरेको भनेर रुसको विश्वव्यापी आलोचना भइरहेको छ ।

विश्व खेलकुदजगतले पनि रुसी कदमको घोर विरोध गरिरहेको छ । विरोधस्वरुप रुसी खेलकुद, त्यहाँका संघ र खेलाडीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित गर्ने निर्णय भइरहेका छन् ।

यसो गरिनुको पछाडि एउटै उद्देश्य छ, रुसी सरकार र राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब सिर्जना गर्नु । ताकि रुसले युक्रेनमाथि जारी राखेको हमला तुरुन्त रोकोस् । रुसलाई मात्र होइन उसका नजिकको छिमेकी बेलारुसलाई पनि विश्व खेलकुदबाट एक्ल्याउने प्रयास भइरहेको छ । युक्रेनविरुद्ध आक्रमण गर्न रुसलाई सहयोग गरिरहेकाले बेलारुसलाई पनि कारबाही गरिएको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले रुस र बेलारुसका सबै खेल संघ, खेलाडी र पदाधिकारीमाथि प्रतिबन्ध लगाउन सार्वजनिक आह्वान गरिसकेको छ । आईओसीको आह्वानलाई सुनेर कयौं अन्तर्राष्ट्रिय खेल महासंघहरूले आ–आफ्नो ठाउँबाट कदम चालेका छन् ।

विश्व फुटबलको नियामक निकाय फिफा र युरोपेली फुटबल महासंघ (युइएफए)ले एकसाथ रुसी राष्ट्रिय फुटबल टिम र त्यहाँका क्लबहरूलाई कुनै पनि प्रतियोगितामा भाग लिनबाट बर्जित गरिसकेका छन् । फलतः रुसले यही मार्चमा हुने विश्वकप प्लेअफ खेल्न पाउने छैन भने स्पार्टक मस्कोलाई युरोपा लिगबाट बाहिर पठाइएको छ ।

यसैगरी युरोपेली क्लबहरूको संगठनले रुसमा रहेका आफ्ना सदस्य क्लबहरूलाई निलम्बन गरिसकेका छन् । निलम्बनमा पर्ने क्लबको सूचीमा स्पार्टकसहित जेनिट सेन्ट पिटर्सबर्ग, लोकोमोटिभ मस्को, सीएसकेए मस्को, क्रान्स्नोडर, रुबिन काजान र रोस्टोभ रहेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलबाट मात्र होइन, अन्तर्राष्ट्रिय रग्बीबाट पनि रुसलाई अलग्याइएको छ । विश्व रग्बी महासंघले रुसको सदस्यता निलम्बनमा राखेको छ । अन्तराष्ट्रिय रग्बी लिग र युरोपेली रग्बी लिगले रुसलाई अर्को सूचना नआउन्जेलसम्म लागि कुनै पनि रग्बी प्रतियोगितामा सहभागी नगराउने बताइसकेका छन् ।

उता अन्तराष्ट्रिय टेनिस महासंघ (आइटिएफ) ले रुसी टेनिस संघ र बेलारुसको टेनिस संघको सदस्यता निलम्बन गरेको छ । दुवै देशमा कुनै पनि अन्तर्राष्ट्रिय टेनिस इभेन्ट नगराउने निर्णय पनि गरिएको छ । यद्यपि यी दुई देशका टेनिस खेलाडीले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यक्तिगत तबरमा भाग लिन भने पाउनेछन् ।

केही समयअघि विश्व एथलेटिक्स महासंघले रुसी धावकहरूलाई रुसको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय एथलेटिक्स इभेन्टमा भाग लिनबाट वञ्चित गरेको छ । यसैकारण टोकियो ओलम्पिकमा रुसी धावकहरूले रुसको झण्डाबिना नै भाग लिएका थिए । अब भने रुसी धावकहरूले यो सुविधा पनि पाउने छैनन् । बेलारुसका धावकहरूलाई समेत अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध लगाइएको छ ।

फर्मुला वान रुसमा असाध्यै लोकप्रिय इभेन्ट हो । उसले रुसमा आयोजना गर्ने भनेको रसियन ग्राँ प्रि रद्द गरेको छ । रुसी ड्राइभरहरूलाई पनि कुनै पनि अन्तर्राष्ट्रिय रेसिङ इभेन्टमा भाग लिँदा रुसी झन्डा प्रयोग गर्न बर्जित गरिएको छ । तर बेलायतमा हुने कुनै पनि इभेन्टमा रुसी ड्राइभरहरूले भाग लिन पाउने छैनन् ।

केही समयअघि विश्व एथलेटिक्स महासंघले रुसी धावकहरूलाई रुसको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय एथलेटिक्स इभेन्टमा भाग लिनबाट वञ्चित गरेको छ । यसैकारण टोकियो ओलम्पिकमा रुसी धावकहरूले रुसको झण्डाबिना नै भाग लिएका थिए । अब भने रुसी धावकहरूले यो सुविधा पनि पाउने छैनन् । बेलारुसका धावकहरूलाई समेत अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध लगाइएको छ ।

साइक्लिङको नियामक निकाय युसिआईले रुस र बेलारुसका खेलाडीलाई अन्तर्राष्ट्रिय इभेन्टमा भाग लिन नपाउने बताएको छ । उता फिनाले रुस र बेलारुसका पौडी खेलाडीलाई अन्तर्राष्ट्रिय इभेन्टमा तटस्थ खेलाडीका रूपमा मात्रै भाग लिन दिने निर्णय गरेको छ ।

रोविङका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनबाट रुसी र बेलारुसी खेलाडीलाई रोक लगाइएको छ भने अन्तर्राष्ट्रिय भलिबल महासंघले रुसमा आयोजना गर्न लागेको विश्व च्याम्पियनसिप आयोजना रद्द गरेको छ ।

विश्व तेक्वान्दो महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुसी राष्ट्रिय गान र झण्डा प्रयोगमा रोक लगाएको छ । साथै रुसी राष्ट्रपति पुटिनलाई दिइएको मानार्थ ब्ल्याक बेल्ट पनि खोसिएको छ ।

रोविङका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनबाट रुसी र बेलारुसी खेलाडीलाई रोक लगाइएको छ भने अन्तर्राष्ट्रिय भलिबल महासंघले रुसमा आयोजना गर्न लागेको विश्व च्याम्पियनसिप आयोजना रद्द गरेको छ ।

 ब्याडमिन्टन र बास्केटबलजस्ता खेलका अन्तर्राष्ट्रिय इभेन्टमा पनि रुसी खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।