इटालियन सिरी ए

भ्लाओभिचको भविष्यबारेमा चर्चा गर्नुपर्ने समय आएको छैनः प्रेड

रोम ।  इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार बोलोग्नाविरुद्ध ३-२ को जित निकालेपछि फियोरेन्टिनाका निर्देशक ड्यानियल प्रेडले स्ट्राइकर डसेन भ्लाओभिचको भविष्यका बारेमा चर्चा गर्नुपर्ने समय आइनसकेको बताएका छन् ।

फियोरेन्टिनाले आइतबार लिगमा बोलोग्नविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्दा भ्लाओभिचले निर्णायक तेस्रो गोल गरेका थिए ।

सर्वियाका २१ वर्षिय भ्लाओभिचलाई भित्राउने दौडमा सिरी ‘ए’ कै क्लब इन्टर मिलान, युभेन्टस, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनहम, आर्सनल, बुन्डेसलिगाको क्लब बायर्न म्युनिख र ला लिगाको क्लब एट्लेटिको मड्रिड छन् ।

भ्लाओभिच र क्लबबीच सन् २०२३ को जुनसम्मको सम्झौता छ ।

‘उनको भविष्यको बारेमा अहिले नै चर्चा गर्नु आवश्यक छ जस्तो लाग्दैन । हामी अहिले नाजुक अवस्थामा छौं र तत्काल ट्रान्सफर बजारको बारेमा कुरा गर्नु उचित नहुन सक्छ,’ प्रेडले भने, ‘भ्लासोभिचमा फुटबलप्रति निकै लगाव छ । प्रशिक्षक भिन्सेन्जो इटालियाने उनीदेखि खुसी छन् र हामी पनि ।’

भ्लाओभिचले फियोरेन्टिनाबाट यस सिजन १६ खेलमा १३ गोल गरेका छन् ।

लिगमा १६ खेलबाट २७ अंक जोडेको फियोरेन्टिना तालिकाको छैटौं स्थानमा छ ।