सहिद स्मारक ‘सी’ डिभिजन लिग २०२४

बबिनको गोलमा आरसी ३२ को विजयी सुरुआत

काठमाडौं । स्ट्राइकर बबिन बोहोराले पहिलो हाफको मध्यतिर गरेको एक मात्र गोल निर्णायक बन्दा ललितपुरको खालीबारी फुटबल क्लबलाई हराउँदै सुर्खेतको आरसी ३२ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिग २०२४ मा विजयी सुरुआत गरेको छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालयमा भएको उद्घाटन खेलमा बबिनले किस्मत लिम्बुले लेफ्ट साइडबाट दिएको कट्ब्याकलाई सदुपयोग गरेका हुन् ।

किस्मतको पासलाई बबिनले वान टचमा गोल पोस्टको दिशा दिएका थिए । बबिनको प्रहार खालीबारीका गोलकिपर मनोज तामाङले रोक्ने प्रयास गरेपनि सफल हुन नसक्दा बलले जाली चुमेको थियो ।

खालीबारीविरुद्ध आरसी ३२ को यो लगातार दोस्रो जित हो । गत संस्करण आरसी ३२ ले आफ्नो पहिलो खेलमा खालीबारीलाई नै हराएर तीन अंक जोडेको थियो । त्यतिबेला आरसी ३२ का लागि आशिष लावतीले दर्शनीय गोल गरेका थिए । दुई वर्षअघि भएको उक्त खेलमा म्यान अफ दि म्याच घोषित भएका आशिषले बिहीबार पनि म्यान अफ दि म्याचको पुरस्कार पाए ।

गत सिजन झिनो अंकले पछि पर्दा आरसी ३२ ‘बी’ डिभिजनमा बढुवा हुन असफल भएको थियो । यसपाली पनि क्लब मिडफिल्डर रोहन कार्कीको नेतृत्वमा छ ।