अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

अन्तिम समयको गोलले हारबाट जोगियो इङ्ल्यान्ड

काठमाडौं । जुड बेलिङ्घमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डले बेल्जियमलाई २-२ को बराबरीमा रोकेको छ ।

घरेलु मैदान वेम्बली रंगशालामा मंगलबार इङ्ल्यान्डका लागि अर्को गोल टोनी इभानले गरे । बेल्जियमका लागि दुवै गोल युरी टेलिम्यान्सले गरे ।

खेलको ११औं मिनेटमा टेलिम्यान्सको गोलमार्फत बेल्यिमले अग्रता लियो । उनले एमाडोउ ओनानाको पासमा गोल गरे ।

टोनीले १७औं  मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । २७औं मिनेटमा इङ्ल्यान्डका जरोड बोवेनले गोल गरेपनि भिएआरमा अफसाइड देखिँदा त्यसले  मान्यता पाएन ।

टेलिम्यान्सले ३६औं मिनेटमा ब्यक्तिगत र टोलीका लागि दोस्रो गरे । उनले रोमेलु लुकाकुको पासलाई पोस्टको दिशा दिए ।  इन्जुरी समयमा जेम्स म्याडिसनको पासलाई जाली चुमाउँदै बेलिङ्घमले इङ्ल्यान्डलाई हारबाट जोगाए ।