आयाक्सको सतप्रतिसत नतिजा

एम्सटरडम, (खेलाडी)- आयाक्सले च्याम्पियन्स लिगको नयाँ सिजनमा सतप्रतिसत नतिजाको यात्रालाई निरन्तरता दिने क्रममा मंगलबार राति बोरुसिया डर्टमन्डमाथि ४-० को सनसनीपूर्ण विजय हासिल गरेको छ । 

एम्सटरडमको घरेलु मैदानमा निर्दयी रुपमा प्रस्तुत भएको आयाक्सले विपक्षी खेलाडी मार्को रिउसको आत्मघाति गोलबाट ११औं मिनेटमा अग्रता लिएको थियो । डुसान टाडिचको फ्रिकिकमा बल रिउसलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । 

टोलीका लागि डिले ब्लाइन्ड, एन्टोनी र सेवास्टिन हालरले गोल थपेपछि जर्मन बुन्डेसलिगाको टोली डर्टमन्डले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो हार भोग्यो । जितपछि आयाक्स तीन खेलमा नौं अंकका साथ समूह ‘सी’को शीर्ष स्थानमा रहँदा डर्टमन्ड भने ६ अंकका साथ दोस्रो स्थानमा छ । 

सोही समूहको अर्को खेलमा मंगलबार स्पोर्टिङ लिस्बनले बेसिक्टासमाथि ४-१ को जित हासिल गर्‍यो । लिस्बनको यो जारी सिजनमा पहिलो च्याम्पियन्स लिग जित हो । जितपछि लिस्बन तीन अंकका साथ तेस्रो स्थानमा रहँदा अहिलेसम्म अंकको खाता खोल्न नसकेको बेसिक्टास पुछारमा छ ।