मेसीको दुई गोलमा पिएसजीको पुनरागमन, सिटीको फराकिलो जित

पेरिस, (खेलाडी)- लियोनेल मेसीले सात मिनेटको बीचमा दुई गोल गरेपछि पेरिस सेन्ट जर्मन (पिएसजी)ले मंगलबार राति च्याम्पियन्स लिग समूह ‘ए’को रोमाञ्चक खेलमा जर्मन प्रतिद्वन्द्वी आरबी लिपजिगमाथि ३-२ को जित हासिल गरेको छ । 

किलियन एमबाप्पेले नवों मिनेटमै घरेलु पार्क डे प्रिन्सेसमा पिएसजीलाई अग्रता दिलाएका थिए । तर पिएसजीको अर्को एक असन्तुलित र संघर्षपूर्ण दिनमा लिपजिगका आन्द्रे सिल्भाले २८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

चोटका कारण नेइमारको अनुपस्थिती रहेको खेलमा माउरिसियो पोचेटिन्होको टोलीले अर्को गोल खाएपछि घरेलु मैदानमा पराजय भोग्ने स्थिती आएको थियो । भ्रमणकारी लिपजिगलाई नोर्डी मुकिइलेले गोल गर्दै ५७औं मिनेटमा अग्रता दिलाएका थिए ।  

तर लिपजिगलाई जारी सिजनमा पहिलो च्याम्पियन्स लिग जित हासिल गर्ने बाटोमा अवरोध हाल्ने क्रममा मेसीले अन्तिम समयमा दुई गोल गरे । ६७औं मिनेटमा पहिलो व्यक्तिगत गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याएका मेसीले ७४औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । 

मंगलबारै सम्पन्न समूहको अर्को खेलमा किशोर मिडफिल्डर कोल पाल्मरले च्याम्पियन्स लिगमा पहिलो गोल गर्दा म्यानचेस्टर सिटीले बेल्जियममा क्लब ब्रुगेमाथि ५-१ को प्रभावशाली जित हासिल गर्यो । 

फुल ब्याकहरु जोआवो क्यान्सेलो र काइल वाल्करले पनि गोलमा नाम लेखाएको दिन सिटीका लागि रियाद माहरेजले दुई गोल गरेका थिए । 

फिल फोडेनको पासमा क्यान्सेलोले गोल गर्दै ३०औं मिनेटमा सिटीको खाता खोलेका थिए । माहरेजले पेनाल्टीमा गोल गर्दै मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा टोलीको अग्रता दोब्बर पारे । 

केभिन डी ब्रुयनाको पासलाई वाल्करले गोलमा परिणत गर्दै ५३औं मिनेटमा सिटीलाई ३-० ले अघि बढाए । रहिम स्टर्लिङको पासमा ६७औं मिनेटमा पाल्मरले च्याम्पियन्स लिगमा व्यक्तिगत गोलको खाता खोले । माहरेजले फर्नान्डिन्होको पासमा समय सकिन ६ मिनेट बाँकी रहँदा सिटीका लागि पाँचौं गोल गरे । 

यसबीचमा ८१औं मिनेटमा रुड भोर्मरको पासमा हान्स भानाकेनले ब्रुगेका लागि सान्त्वना गोल गरेका थिए । 

मंगलबारका नतिजापछि तीन खेलको समाप्तीमा सात अंकका साथ पिएसजी समूहको शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी ६ अंकका साथ दोस्रो स्थानमा छ । यसैगरी चार अंक जोडेको ब्रुगे तेस्रो स्थानमा छ भने लिपजिगले अंकको खाता खोल्न सकेको छैन ।