उद्घाटन खेलमा नेपाल आर्मी र फुटबल फेलोसिप भिड्ने

काठमाडौं, (खेलाडी)-  फुटबलर्स मिसन टुगेदरको आयोजनामा कार्तिक ६ गतेबाट सुरु हुने मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिप भिड्ने भएका छन् ।

फुटबलर्स मिसन टुगेदरले मंगलबार प्रतियोगिताको समूह विभाजन तथा खेलतालिका सार्वजनिक गरेको हो । कार्तिक १६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका खेलाडीले मात्र खेल्न पाउँछन् । यद्यपि सबै टोलीले कम्तीमा ३५ वर्षमाथि र ४० वर्षमुनि उमेरसमूहका तीन खेलाडी राख्न पाउनेछन् । सहभागी २१ टोलीलाई ७ समूहमा विभाजित गरिएको छ ।

जसअन्तर्गत समूह ‘ए’ मा नेपाल आर्मी भेट्रान्स, फुटबल फेलोसिप, फर्पिङ स्पोर्ट्स, समूह ‘बी’ मा एनआरटी, भनिमण्डल भेट्रान्स, वी आर ब्रदर्श, समूह ‘सी’ मा फ्रेन्ड्स क्लब, एनएनकेसी र बौद्ध भेट्रान्स, समूह ‘डी’ मा खुमल भेट्रान्स, ललितपुर वार्ड नम्बर १४  रहेका छन् ।

त्यस्तै  समूह ‘ई’ मा काभ्रे भेट्रान्स, हेटौडा नगरपालिका, झापा एफसी, समूह ‘एफ’ मा चितवन भेट्रान्स चितवन पश्चिम र बुटवल नगरपालिका  तथा समूह ‘जी’ मा झम्सिखेल भेट्रान्स, श्री कुमारी क्लब र पोखरा भेट्रान्स रहेका छन् ।