युरोपियन च्याम्पियनसिप छनोट २०२४

स्कटल्यान्डसँग स्पेन स्तब्ध

लन्डन । स्कट म्याकथोमीको दुई गोल गरेको दिन मंगलबार स्कटल्यान्डले युरोपियन च्याम्पियनसिप छनोट २०२४ मा स्पेनलाई २-० ले स्तब्ध पारेको छ । 

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर म्याकथोमीले शनिबार पहिलो खेलमा साइप्रसमाथि ३-० को जित निकालेको खेलमा पनि गोल गरेका थिए । 

सातौंं मिनेटमा म्याकथोमीले गरेको गोलमा स्कटल्यान्डले अग्रता लिएको थियो । ५१औं मिनेटमा म्याकथोमीले स्कटल्यान्डको अग्रता दोब्बर पारेका थिए । 

समूह ए मा स्कटल्यान्ड दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको स्पेनभन्दा तीन अंक बढी हो । तेस्रो स्थानको नर्वे र चौथो स्थानको जर्जियाको समान एक अंक छ भने पाँचौं स्थानको साइप्रसले अंक खाता खोल्न सकेको छैन । 

शनिबार सम्पन्न खेलमा सुखद सुरुआत गर्ने क्रममा स्पेनले नर्वेलाई ३-० ले हराएको थियो । नर्वे भने दोस्रो खेलमा जर्जियासँग १-१ को बराबरीमा रोकिएको थियो । 

स्कटल्यान्डले जुन १७ मा तेस्रो खेलका लागि नर्वेको भ्रमण गर्नेछ । स्पेनले भने नेसन्स लिगअन्तर्गत जुन १५ मा हुने सेमिफाइनलमा इटालीको सामना गर्नेछ ।