आयाक्स र डर्टमन्डको जित

बर्लिन, (खेलाडी)-  बोरुसिया डर्टमन्ड र आयाक्सले च्याम्पिन्स लिगमा विजयी यात्रा कायम राखेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार भएको समूह 'सी' का खेलमा आयाक्सले बेसिक्टासलाई २-० ले हरायो ।

१७औं मिनेटमा स्टेभन बर्गह्युसको गोलमा आयक्सले अग्रता लिएको थियो । ४३औं मिनेटमा सेवास्टिन हेलरले आयाक्सको अग्रता दोब्बर पारेका थिए ।

समूह 'सी' मा आयाक्स दुई खेलमा ६ अंक बटुल्दै शीर्ष स्थानमा बस्दा समान खेलमा समान ६ अंक जोडेको डर्टमन्ड दोस्रो स्थानमा छ । बेसिक्टस र स्पोर्टिङ सिपीले भने अझै अंकको खाता खोल्न सकेका छैनन् ।

समूह 'सी' मा मंगलबार भएको अर्को खेलमा डर्टमन्डले स्पोर्टिङ सिपीलाई १-० ले निराश बनायो ।

३७औं मिनेटमा डोनेल मालनले गरेको गोल डर्टमन्डलाई स्पष्ट तीन अंक पक्का गर्न पर्याप्त बन्यो ।