सहिद स्मारक ‘ए’ डिभिजन लिग

सहिद स्मारक ‘ए’ डिभिजन लिगः हिमालयन शेर्पा, सातदोबाटो र मनाङको जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ को पाँचौं दिन हिमालयन शेर्पा क्लब, सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङदी क्लबले जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेका छन् । तीन वटै क्लबले समान १-० को जित निकालेका हुन् ।  

हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लब, सातदोबाटोले अर्को विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब तथा मनाङले संकटा क्लबलाई पराजित गरे ।

अमृतको इन्जुरी समयको गोलमा पुलिसको लगतार दोस्रो हार

हिमलायन शेर्पाका अमृत श्रेष्ठले इन्जुरी समयमो निर्णायक गोल गरेपछि पुलिस लगातार दोस्रो खेलमा पराजित भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इन्जुरी समयमा हिमलायन शेर्पाका लागि विजयी गोल गरेका थिए ।

दुवै टोलीले गोलका केहि अवसर सृजना गरेपनि निर्धारित ९० मिनेटसम्म गोल गर्न सकेका थिएनन् । पुलिसका रक्षक अजित भण्डारीले विदेशी खेलाडी अबायोमी ओलुवासेउन फाकुन्ललाई बक्सभित्र लडाएपछि खेलको ३२ औं मिनेटमा  हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो तर, निशान लिम्बूको प्रहार गोलकिपर शत्रुघन चौधरीले बचाएका थिए ।

म्यान अफ दि म्याच अमृतले बक्सभित्रबाट हानेको प्रहारले दोस्रो बारमा सिधै जाली चुम्दा  हिमलयन शेर्पाले तीन अंक जोडेको हो ।

लिगमा पहिलो जित निकाले पनि हिमलयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले योजना अनुसार खेल्न नसकेको प्रतिक्रिया दिए । मौका पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको उनले बताए ।

जितसँगै हिलमालयन शेर्पाले दुई खेलमा चार अंक जोड्दा पुलिस भने अंकविहिन छ । पहिलो खेलमा हिमलायन शेर्पाले मनाङसँग १-१ को बराबरी खेल्दा पुलिसले चर्च ब्वाइज युनाइटेडसँग २-१ को पराजय ब्यहोरेको थियो ।

अब तेस्रो खेलमा हिमलायन शेर्पाले फागुन २६ गते चर्च ब्वाइजको सामना गर्नेछ भने सोहि दिन पुलिसले संकटासँग खेल्नेछ ।

सातदोबाटोको लगातार दोस्रो जित

एपिएफलाई १-० ले पराजित गर्दै सातादोबाटोले लिगमा लगातार दोस्रो जित निकाल्यो ।

जितसँगै सातदोबाटोले दुई खेलमा ६ अंक जोड्दा पहिलो पराजय ब्यहोरेको एपिएफको समान खेलबाट तीन अंक छ । पहिलो खेलमा एपिएफले थ्री स्टारलाई २-० तथा सातदोबाटोले युरोड टिम (एनआरटी) लाई २-१ हराएका थिए ।

च्यासल रंगशालामा बुधबार सम्पन्न खेलमा विलियम ओपोकु असियदुले गरेको एक मात्र गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । म्यान अफ दि म्याच आसियदुले खेलको ५५ औं मिनेटमा मैदानको मध्य भागबाट उत्कृष्ट गोल गरेका थिए ।

सिजनको तेस्रो खेलमा सातदोबाटोले फागुन २७ गते मछिन्द्रको सामना गर्नेछ । सोहि दिन एपिएफले जावलाखेलसँग खेल्नेछ ।

 मनाङको पहिलो जित

संकटालाई १-० ले पराजित गर्दै  सर्वाधिक आठ पटकको च्याम्पियन मनाङले लिगमा पहिलो जित निकालेको छ।

जितसँगै मनाङले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय ब्यहोरेको संकटाको समान खेलबाट एक अंक छ । पहिलो खेलमा मनाङले हिमालयन शेर्पासँग १-१ तथा संकटाले विभागीय टोली त्रिभुवन आर्मीसँग गोलरहित बरारबी खेलेका थिए । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङलाई जित दिलाउन उज्वेकिस्तानका विंगर सेदजामोल दाभ्लातजोनोभले निर्णायक गोल गरे ।

५३ औं मिनेटमा दाभ्लातजोनोभले बायाँ विंगबाट गरेको प्रहार संकटाका गोलकिपर टिकेन्द्र सिंह थापाले पन्च गर्दै बचाउने प्रयास गरे पनि डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

इन्जुरी समयमा चन्दन कुमारदासको प्रहारले पोस्टको दिशा लिन नसक्दा संकटका हार ब्यहोर्न बाध्य बन्यो । 
खेलमा मनाङका सुमित श्रेष्ठ म्यान अफ दि म्याच चुनिएका थिए ।

हारका बावजुद संकटा प्रशिक्षक सल्यान खड्गीले आफूहरु उपाधिको दाबेदार रहेको प्रतिक्रिया दिए । दुई खेलमा गोलको खाता खोल्न नसकेको संकटाले आउने दिनमा राम्रो गर्ने उनले बताए । 

त्यस्तै विजेता टोलीका प्रशिक्षक किरण श्रेष्ठले मनाङको लक्ष्य शीर्ष चार भित्र रहने बताए ।

मनाङले अब फागुन २९ गते साबिक विजेता मछिन्द्रसँग खेल्नेछ । संकटाले भने ३० गते चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ ।