बृहत् खेलकुद महोत्सव -२०७९

कमल श्रेष्ठ च्याम्पियन

सांकेतिक तस्बिर

पाटन । ललितपुर जिल्ला खेलकुद बिकास समितिले बृहत् खेलकुद महोत्सव -२०७९ अन्तर्गत १३ खेल विधाका प्रतियोगिताहरु आयोजना गर्ने क्रममा बुद्धिचालको अन्तिम खेल आज सम्पन्न गरेको छ।

ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएका ६ चरणको खेलमा ललितपुर महालक्ष्मी नगरपालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठ पाँच अंक प्राप्त गर्दै जिल्ला च्याम्पियन बने ।

 कमल आफ्नै नगरका सुरोज महर्जनलाई प्रोग्रेसिभका आधारमा पछाडि पार्दै जिल्ला च्याम्पियन बनेका हुन्। समान पाँच अंकका साथ सुरोज महर्जन दोश्रो स्थानमा रहे ।

यसैगरी लामो समय नेपाल चेस खेलमा आफ्नो दबदबा कायम राखेका राजन पुरी ४.५ अंक हासिल गर्दै तेश्रो स्थान प्राप्त गरेका छन्। समान ४.५ अंकका साथ ललितपुर महानगरपालिकाका प्रदेश च्याम्पियन रत्न ब्यञ्जनकार चौथो भएका छन्।

प्रतियोगितामा तीन जनाले समान चार अंक हासिल गर्ने क्रममा ललितपुर महानगरपालिकाका अनरेटेड सुरोज श्रेष्ठले उत्कृष्ट खेल पस्कदै पाँचौ , शिरोमणि बज्राचार्य छैटौं र सानुभाई महर्जन सातौं स्थानमा रहन सफल भएका छन् ।