नेपालविरुद्ध भारत

गीता घाइते हुँदा समस्या भयोः प्रशिक्षक अनन्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले मुख्य रक्षक गीता राना घाइते हुँदा सोचेअनुसारको नतिजा नआएको बताएका छन् ।

चेन्नईस्थित जावहारलाल नेहरु रंगशालामा भएको पहिलोे मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली भारतसँग २–२ गोलको बराबरी खेलेको थियो । पहिलो हाफमा भारतलाई दवावमा राखेपनि नेपाल फिनिसिङमा चुकेको थियो ।

दोस्रो हाफमा मुख्य रक्षक गीता घाइते हुँदा नेपालले दुई गोल बेहोरेको थियो । ‘आज गीता घाइतेहुँदा समस्या भयो । हामीले अवसर पनि पाएका थियौं । पहिलो हाफमा निकै राम्रो अवसर खेर फाल्यौं । दोस्रो हाफमा गीता घाइते हुँदा दुई गोल बेहोर्याै,’ थापाले भारतबाट भने ।

गीता घाइते भएपनि थापाले विमला वि.कलाई सेन्ट्र ब्याकको जिम्मेवारी दिएका थिए । यसपछि उनले दीपा शाही, प्रीति राईलाई मैदान प्रवेश गराएका थिए ।

स्ट्राइकर साबित्रा भण्डारीले दुई मिनेटको अन्तरमा दुई गोल गरेसँगै नेपालले बुधबार पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग सम्भावित हारको संकट टारेको थियो । ५६औं मिनेटमा सौम्याको गोलमा भारतले अग्रता लिएको थियो । ६८औं मिनेटमा  कप्तान इन्दुमतीले भारतको अग्रता दोब्बर पारेकी थिइन ।

९०औं मिनेटमा साबित्राको पेनाल्टीमा नेपालले खेलमा फर्कने संकेत गरेको थियो । स्विटी देवीले बक्सभित्र हातले बल छोएपछि नेपालले पेनाल्टी अवसर पाएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा साबित्राले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन । सरु लिम्बूले मिलाएको काउन्टर बलमा सावित्राले उत्कृष्ट फिनिसिङ गरेकीथिइन् ।

थापाले पहिलो हाफमा निकै राम्रो प्रदर्शन भएको र त्यसलाई सुधार गर्दै दोस्रो खेल जित्न खेल्ने बताए । ‘हामीले पहिलो हाफमा निकै राम्रो गर्याै । दोस्रो खेलमा सुधार गर्दै राम्रो गर्ने प्रयास गर्छाै,’ थापाले भने । नेपालले शनिबार दोस्रो खेल खेल्नेछ ।

 

पछिल्लो पटक नेपालमा सम्पन्न साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत आमने सामने भएका थिए । जहाँ नेपालले भारतलाई १–० ले हराएको थियो ।

दुवै टोली पेरिस ओलम्पिक छनोटको तयारीमा छन् । समूह सी मा रहेको नेपालले भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी अप्रिलमा प्यालेस्टाइनसँग खेल्दै सुरुवात गर्नेछ ।

भारतले समूह जी मा तुर्केमिनिस्तान, कीर्गिस्तानसँग खेल्ने तालिका छ । समूहको शीर्षस्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

भारतका प्रशिक्षक थोमस डेनर्वी भने खेलाडीको प्रदर्शनपछि सन्तुष्ट रहेनन् । खेलाडीले धैर्यता गुमाउँदा प्राप्त नतिजा गुमेको थोमसले बताए । ‘म आजको खेलबाट सन्तुष्ट छैन । खेलाडीमा धैर्यता भएन । अनुशासन पनि देखिएन । स्तब्धपूर्ण नजिता आयो । यो स्विकार्य छैन ।’