कतार विश्वकप २०२२

कतार फर्किए स्टर्लिङ

दोहा । पारिवारिक समस्याका कारण घर फर्किएका इङ्ल्यान्डका स्ट्राइकर रहिम स्टर्लिङ कतार विश्वकप २०२२ का लागि टोलीमा समावेश भएका छन् ।  इङ्ल्यान्ड फुटबल महासंघ (एफए) ले बिहिबार स्टर्लिङ टोलीमा फर्किएको जानकारी दिएको छ ।  

घरमा चोरी भएपछि टोली क्याम्प छाडेर स्वदेश फर्किएका स्टर्लिङले आइतबार अन्तिम १६ अन्तर्गत सेनेगलविरुद्धको खेल गुमाएका थिए । स्टर्लिङ फ्रान्ससँगको खेलअघि शुक्रबार हुने अन्तिम चरणको अभ्यासमा सामेल हुने अपेक्षा गरिएको छ ।

 इङ्ल्यान्डले क्वार्टरफाइनलमा शनिबार साबिकको विजेता फ्रान्सको सामना गर्दैछ । समूह चरणमा इङ्ल्यान्डले इरानलाई हराउँदा स्टर्लिङले एक गोल गर्र्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।

बिबिसीका अनुसार लण्डस्थित स्टर्लिङको घरमा शनिबार राति हतियारसहित प्रवेश गरेको समूहले लुटपाट गरेको थियो । सामान चोरी भए पनि परिवारलाई केही नभएको स्थानिय प्रहरी स्रोतले जनाएको छ ।