कतार विश्वकप २०२२

विश्वकप जित्ने मग्वायरको विश्वास

काठमाडौं । इङ्ल्यान्डका रक्षक ह्यारी मग्वायरले आफ्नो टोलीले विश्वकप जित्ने विश्वास गरेका छन् ।  

‘हामीले चार वर्षअगाडी सेमिफाइनल खेलेका थियौं । त्यो एक उत्कृष्टक्षण थियो । तर, त्यतीबेलाको टोली र अहिलेको टोलीमा धेरै फरक छ । हामी मानसिक रुपमा पनि तयार छौं । त्यसैले मलाई यो टोलीले विश्वकप जित्न सक्छ भन्ने विश्वास छ ।’ रक्षक मग्वायरले भनेका छन् ।

इङ्ल्यान्डले क्वार्टरफाइनलमा शनिबार साबिकको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप जित्ने लक्ष्यमा रहेको इङ्ल्यान्डले सन् १९६६ मा उपाधि जिते यता फाइनल यात्रा तय गर्न सकेको छैन ।

फ्रान्सलाई स्तब्ध पार्न सके  इङ्ल्यान्डले सेमिफाइनलमा मोरक्को र पोर्चुगलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । तुलनात्मक रुपमा यी टोली  इङ्ल्यान्डका लागि सहज प्रतिद्धन्द्धी हुन । त्यसैले उसको सामू लामो समयपछि विश्वकपको फाइनल पुग्ने  अवसर छ ।

‘सायद रुस विश्वकपमा त्यो विश्वास थिएन तर अहिलेका युवा खेलाडीमा जोस छ’ मग्वायरले भने‘ हामीलाई उपाधि यात्रा सहज भने हुने छैन । किनकी अन्य चार–पाँच टोली पनि यस्तै मानसिकता साथ कतार आएका छन् ।’