कतार विश्वकप २०२२

ब्राजिललाई झट्का दिने लक्ष्यमा दक्षिण कोरिया

काठमाडौँ । पाँच पटकको विश्वविजेता ब्राजिलले विश्वकप जित्न नसकेको दुई दशक भइसकेको छ । प्रत्येक पटक उपाधि दाबेदाबेदारको हैसियतका साथ प्रतियोगितामा प्रस्तुत हुने गरे पनि दक्षिण कोरिया र जापानले २००२ मा आयोजना गरेको विश्वकप ब्राजिलले उपाधि जितेको पछिल्लो संस्करण हो ।

यसपाली पनि उपाधिको मुख्य दाबेदारको हैसियतमा ब्राजिल कतार आइपुगेको छ । समूह चरणको प्रदर्शनले पनि त्यही भन्छ । तर, फुटबल अनिश्चितताको खेल हो र यहाँ उपाधि जित्नका लागि फाइनलसम्मका खेलमा नरोकिइकन यात्रा अगाडि बढाउन सक्नुपर्छ । अझ नकआउट चरणमा त झन दोस्रो अवसर पनि पाइन्न ।

समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएको ब्राजिलले अब नकआउट चरणमा त्यस्तो गल्ती दोहोर्याउने छुट छैन । नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको अवस्थामा ब्राजिलका लागि क्यामरुनसँगको त्यो खेल अर्थहिन थियो । यही कारण ब्राजिलले आफ्नो उर्जा नकआउट चरणका लागि साच्न खोज्दा नतिजा कमजोर आएको थियो । तर, अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक हार भोग्दा ब्राजिलको फुटबल शानमा पक्कै धक्का लाग्यो ।

नकआउट चरणमा ब्राजिलले आज राति १२ः४५ बजे एसियाली प्रतिद्धन्द्धी दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा ब्राजिललाई जितको प्रष्ट दाबेदार मान्न सकिन्छ । उपाधि जित्न नसकेको दुई दशक भए पनि ब्राजिलले ३२ वर्ष यता अन्तिम १६ मा एउटै खेल हारेको छैन । १९९० मा दक्षिण अमेरिकी प्रतिद्धन्द्धी अर्जेन्टिनासँग भोगेको १-० को हार विश्वकपको अन्तिम १६ मा ब्राजिलले भोगेको पछिल्लो निराशा हो ।

स्टार खेलाडीहरुको साथमा फिफा विश्व वरियताको शीर्ष स्थानमा रहेर कतार आइपुगेको ब्राजिलको जस्तो गर्विलो इतिहास दक्षिण कोरियाको छैन । तर दक्षिण कोरियाले आज राति रंगशाला ९७४ मा ब्राजिललाई स्तब्ध पारेर विश्वकप इतिहासकै ठूलो झट्का दिने लक्ष्य राख्नेछ ।

समूह ‘जी’को विजेता ब्राजिलले समूह चरणका पहिलो दुई खेल जित्दै सोझै नकआउट चरणमा स्थान बनाएको थियो । युरोपका कठिन दुई टोली सर्बिया र स्विट्जरल्यान्डलाई हराइसकेपछि ब्राजिल क्यामरुनसँग १-० ले स्तब्ध भएको थियो ।

समूह ‘एच’को उपविजेता दक्षिण कोरियाले भने निक्कै संघर्ष गरेर नकआउट चरणको टिकट काटेको हो । उरुग्वेविरुद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको कोरिया दोस्रो खेलमा घानासँग ३-२ ले निराश भएको थियो । अन्तिम खेलमा पोर्चुगललाई २-१ को पुनरागमन जित निकाल्दै टोली कतार विश्वकपको दोस्रो ‘ग्रुप अफ डेथ’बाट माथि उक्लिन सफल भएको थियो ।

अन्तिम आठको प्रबल दाबेदार ब्राजिलले क्यामरुनलाई नतिजा सुम्पनुअघि लगातार ९ खेलमा जित हासिल गरेको थियो । क्यामरुनविरुद्ध प्रशिक्षक टिटेले दोस्रो रोजाइका खेलाडी खेलाएका थिए । त्यसोत ब्राजिलको पहिलो रोजाइबाट जति अपेक्षा गरिएको थियो, सर्बिया र स्विट्जरल्यान्डविरुद्ध पनि त्यो खेल देखिएको थिएन । पहिको हाफमा ब्राजिलबाट गोल निस्किएको छैन । ब्राजिलले समूह चरणमा तीन गोल गरेको थियो । दक्षिण कोरियाले त्यो भन्दा एक बढी । यहि तथ्यांकबाट एसियाली टिमले प्रेरणा लिने प्रयास गर्नेछ ।

चोटका कारण समूह चरणका पछिल्ला दुई खेलमा आराम गरेका सुपरस्टार नेयमार कोरियाविरुद्ध मैदानमा फर्कने ब्राजिलले जानकारी गराइसकेको छ । यस्तोमा ब्राजिललाई खेल जित्न थप सहज हुनेछ । सर्बियाविरुद्धको पहिको खेलमा उनको खुट्टामा चोट लागेको थियो ।

स्ट्राइकर गाब्रियल जेसुस र लेफ्ट ब्याक एलेक्स टेलासले घुँडाको चोटका कारण विश्वकपका बाँकी खेलहरु गुमाउँने भएका छन् । जसबाट ब्राजिललाई रक्षात्मक हिसाबमा थोरै समस्या हुन सक्छ । पहिलो रोजाइका लेफ्ट ब्याक एलेक्स सान्ड्रो पनि केही समययता नितम्बको समस्याबाट गुज्रिरहेका छन् ।

सान्ड्रो र टेलासको विकल्पमा प्रशिक्षक टिटेले खुट्टाको चोटबाट निको हुँदै गरेका ड्यानिलोलाई लेफ्ट ब्याकमा र राइट ब्याकमा एडर मिलिटाउको प्रयोग गर्ने अनुमान छ ।

ह्यामस्ट्रिङको समस्याका बावजुद दक्षिण कोरियालाई नकआउट चरण प्रवेश गराउन पोर्चुगलविरुद्ध निर्णायक गोल गरेका ह्वाङ ही चान ब्राजिलविरुद्ध पहिलो रोजाईबाट खेल्ने सम्भावना बढी छ ।

ही चानको स्थानमा खेलिरहेका ली जे सुङलाई प्रशिक्षक पाउलो बेन्टोले ब्राजिलविरुद्ध वैकल्पिक खेलाडीका रुपमा खेलाउन सक्छन् । पोर्चुगलविरुद्धको खेलमा आराम गराइएका किम मिन जेले पूर्ण फिटनेस हासिल गरे सुरुआती एघारमा पुनरागमन गर्नेछन् ।

दक्षिण कोरिया पक्कै पनि अन्डरडग हो । तर ह्युङ मीन सनको नेतृत्वमा ब्राजिललाई निराश पारेर नयाँ इतिहास लेख्न सक्छ । कोरियाको काउन्टर अट्याक रणनीतिप्रती ब्राजिल सजग रहन आवश्यक छ ।

अन्तर्राष्ट्रिय फुटबलमा यसअघि दक्षिण कोरिया र ब्राजिलले एकअर्कासँग सात पटक खेलेका छन् । जसमा ब्राजिलले ६ पटक बाजी मारेको छ । पछिल्लो भेटमा ब्राजिलले कोरियालाई ५-१ को फराकिलो हार चखाएको थियो ।