फ्रान्स

व्यक्तिगत अवार्ड भन्दा पनि टोलीको सफलतामा केन्द्रित एमबाप्पे

दोहा । फ्रान्सलाई लगातार दोस्रो विश्वकप दिलाउने लक्ष्यमा रहेका युवा स्ट्राइकर केलियन एमबाप्पेले कतार २०२२ मा गोल्डेन बल वा गोल्डेन बुट जित्नेमा केन्द्रित नभएको बताएका छन् ।

अन्तिम १६ अन्तर्गत आइतबार पोल्यान्विरुद्ध जित निकाल्दा दुई गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेका पेरिस सेन्ट जर्मेनका सुपरस्टार एमबाप्पे सर्वोत्कृष्ट खेलाडी र  उच्च गोलकर्तालाई दिइने अवार्डको  प्रमुख दावेदार हुन् ।

‘मेरो एउटै लक्ष्य भनेको विश्वकप जित्नु हो, अगाडी बढ्नका लागि क्वार्टरफाइनल सबैभन्दा महत्त्वपूर्ण छ । त्यसैले त्यही खेलका लागि केन्द्रित छु । म विश्वकप जित्ने सपना मात्र देख्छु । मैले गोल्डेन बल वा गोल्डेन बुट जित्ने सपना देखेको छैन,एमबाप्पेले भने, म फ्रान्सको उपाधि रक्षा अभियानमा मद्दत गर्न आएको हुँ। अहिलेसम्म राम्रो भएको छ, तर हामी फाइनल जित्ने लक्ष्यबाट धेरै टाढा छौं ।’

फ्रान्सलाई क्वार्टरफाइनलसम्म पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका एमबाप्पेले हालसम्म पाँच गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका छन् ।

फ्रान्सले क्वार्टरफाइनलमा शनिबार उपाधि  अर्को  दाबेदार इङ्ल्यान्डको सामना गर्नेछ ।