कतार विश्वकप २०२२

अर्को सनसनीको प्रतिक्षामा जापान

काठमाडौं । ग्रुप अफ डेथमा स्पेन र जर्मनीजस्ता दुई पूर्व च्याम्पियनलाई स्तब्ध पार्दै समूह विजेताको हैसियतमा नकआउट चरण प्रवेश गरेको एसियाली टोली जापानले कतार विश्वकपको अन्तिम १६ मा आज अर्को महारथीको सामना गर्दैछ ।

चार पटकका पूर्व विजेता जर्मनी र १२ वर्षअघि विश्वकप जितेको स्पेनमाथि सनसनीपूर्ण जित हासिल गरेको जापानले क्वार्टरफाइनल पुग्नका लागि आज चार वर्षअघि रुसमा भएको विश्वकपको उपविजेता क्रोएसियालाई निराश पार्नुपर्नेछ ।

समूह चरणको पहिलो खेलमा जर्मनीमाथि २-१ को अविश्वसनीय जित निकालेको जापानले दोस्रो खेलमा कोस्टारिकासँग पराजय भोगेको थियो । बिहीबार समूह चरणको अन्तिम खेलमा स्पेनलाई पनि २-१ ले पराजित गरेपछि विजेताको हैसियतसाथ जापानको अन्तिम १६ यात्रा पक्का भएको थियो । 

पछिल्लो समय राम्रो लयमा रहेको जापानलाई आज लुका मोडरिचको क्रोएसियाविरुद्ध मैदान उत्रिँदा पक्कै पनि समूह चरणका दुई सनसनीपूर्ण जितले प्रेरणा दिनेछन् । उपाधिको मुख्य दाबेदारको रुपमा कता आइपुगेका दुई पूर्व विजेतालाई हराइसकेको कारण पनि क्रोएसियासँग तुलना गर्दा जापानलाई क्वार्टरफाइनलको दाबेदार मान्न सकिन्छ ।

चार वर्षअघि फाइनल पुग्दाजस्तो लय क्रोएसियाको टोलीमा अहिले छैन । मोडरिचको कप्तानीमा रहेको टोलीले आफ्नो समूहमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेल्दा क्यानडालाई ४-१ को नतिजाले पराजित गरेको थियो ।

आफै लय समाउन संघर्षरत क्रोएसियालै एसियाली महारथी जापानलाई हराउँदै अन्तिम आठको यात्रा तय गर्नका लागि चार वर्षअघिको जस्तो जादुमय प्रदर्शनलाई फेरि मैदानमा फर्काउन सक्नुपर्नेछ ।

जापानको राम्रो पक्ष भनेको खेलाडीहरुको तिब्र गति हो । यही कारण टोलीले स्पेनविरुद्ध जस्तै काउन्टर अट्याकबाट सफलता खोज्नेछ । जसले क्रोएसियालाई गाह्रो पार्न सक्छ । पहिलो गोल नगरुन्जेल सामूहिक खेल प्रस्तुत गर्ने बानी परेको क्रोएसियाविरुद्ध गोलको खाता खोल्न जापानलाई पनि सहज हुने छैन ।

पहिलो पटक क्वार्टरफाइनल खेल्ने महत्वाकांक्षा बोकेको जापानका लागि वैकल्पिक खेलाडीहरुको प्रदर्शनले ठूलो भूमिका खेल्नेछ । प्रशिक्षक हाजिमे मोरियासुका ‘सुपरसब’हरुले कतारमा प्रभावकारी प्रदर्शन गरिरहेका छन् । जापानले समूह चरणमा चार गोल गर्यो, जसमा तीन गोल वैकल्पिक खेलाडीले गरेका थिए । क्रोएसियाविरुद्ध पनि टोलीले यस्तै अपेक्षा गर्नेछ ।

नकआउट चरण सम्म आइपुग्दा क्रोएसिया पछिल्ला ९ खेलमा अपराजित छ । क्रोएसियाले अहिलेसम्म दुई पटक अन्तिम १६ खेलेको छ । जसमा त्रोएसिया हारेको छैन । उता जापानले भने तीन पटक अन्तिम १६ को यात्रा गरे पनि सबैमा हार भोग्दै प्रतियोगिताबाट बाहिरिएको इतिहास छ ।

पछिल्लो पटक जापान २-० को अग्रता लिएर पनि बेल्जियमसँग ३-२ ले पराजित भएको थियो । यस हिसाबले जापानी खेलाडीहरुमा मानसिक दबाब अवश्य पनि रहनेछ ।

तर काउन्टर अट्याकमा धारिलो प्रदर्शन गरिरहेको जापानविरुद्ध ज्लाट्को डालिचको प्रशिक्षणमा रहेको क्रोएसिया सतर्क रहनेछ ।

उत्कृष्ट खेल प्रदर्शन गरिरहेका रक्षक जस्को ग्वार्डियोल, कप्तान मोडरिच र स्ट्राइकर आन्द्रे क्रामारिच क्रोएसियाको टोलीमा सबभन्दा धेरै आशा गरिएका खेलाडी हुन् । त्यस्तै जापानका फरवार्ड ताकुमो ओसानो, गोलरक्षक शुची गोल्डा र मिडफिल्डर रित्सु डोनप्रति सबैको नजर रहनेछ ।

अल जनुब रंगशालामा अन्तिम १६ को भेटअघि यी दुई टोलीले एक-अर्काविरुद्ध जम्मा तीन खेल खेलेका छन् । दुवैले एक-एक खेल जितेका छन् भने एक खेल बराबरीका टुगिंएको थियो ।