मोरोक्को

स्पेनलाई स्तब्ध पार्नेमा आशाबादी छौः बोनोउ

दोहा । मोरोक्कोका गोलकिपर यासिन बोनोउले कतार विश्वकप २०२२ अन्तर्गत आज अन्तिम १६ मा स्पेनका सामना गर्दा उत्कृष्ट लय कायम राख्दै क्वार्टरफाइनलमा प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन् । 

मोरोक्कोले दोस्रो पटक विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गर्न लागेको हो ।  समूह एफ को पहिलो खेलमा क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको मोरोक्कोले दोस्रो खेलमा बेल्जियम र तेस्रो खेलमा क्यानडालाई हराएको थियो । मोरोक्को

मोरोक्को समूह एफ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने स्पेन समूह इ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

बोनोउले समूह विजेताको रुपमा अन्तिम १६ प्रवेश गर्ने उपलब्धी हासिल गरे पनि आफूहरु थप सफलताको संघारमा रहेकाले त्यो अवसर खेर जान दिने पक्षमा नरहेको बताए ।

‘हामीले समूह विजेताको रुपमा अन्तिम १६ प्रवेश गर्दैै इतिहास रचिसकेका छौ,’उनले भने, ‘स्पेनलाई हराउन सके ,हाम्रो सफलता थप एक कदम अघि बढ्ने छ । जुन हाम्रो फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हुनेछ । हामी त्यसका लागि पूर्ण रुपमा तयार छौ ।’