बेल्जियम

हामी बेल्जियम फुटबलको सुनौलो पुस्ता होइनौंः कोर्टुवा

दोहा । थिबाउट कोर्टुवाले कतार विश्वकपमा गरेको खराब प्रदर्शनका कारण आफुहरु बेल्जियमको सुनौलो पुस्ता नभएको प्रतिक्रिया दिएका छन् ।

रुस विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गरेको बेल्जियम युरोपियन च्याम्पियनसिप २०२० को क्वार्टरफाइनलसम्म पुगेको थियो । तर कतार विश्वकप २०२२ भने बेल्जियमका लागि सम्झनलायक रहेन । 

पहिलो खेलमा क्यानडालाई हराएको बेल्जियम दोस्रो खेलमा मोरोक्कोसँग पराजित भयो भने तेस्रो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको थियो । तीन खेलमा मात्र चार अंक जोडेको बेल्जियम तेस्रो स्थानमा रह्यो र उनीहरुको यात्रा समूह चरणमा सीमित बन्यो । 

उपाधिको दाबेदार मानिएको टोली समूह चरणबाटै बाहिरिएपछि बेल्जियमको सुनौलो पुस्ता विश्वकपको उपाधि जित्न असफल भएको भन्दै उनीहरुको आलोचना भैरहेको छ ।

‘हामीलाई बेल्जियम फुटबलको सुनौलो पुस्ता भन्नु लज्जाको विषय हो किनभने हामीले अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनौ,’ कोर्टुवाले भने,'हामीसँग क्षमतावान खेलाडी छन् जसले युरोपियन लिगहरुमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । तर हामीले राष्ट्रिय टोलीलाई जति सफलता दिनुपर्ने हो,त्यो दिन सकिरहेका छैनौ । हामीले रुसमा गरेको प्रदर्शनले धेरैले हामीबाट ठूलो आशा राखेका थिए । तर हामीले कतारमा उनीहरुको अपेक्षा अनुसारको प्रदर्शन भने गर्न सकेनौ ।'

कोर्टुवा २०२६ को विश्वकपसम्म ३४ वर्षमा प्रवेश गरिसकेका हुनेछन् । यद्धपी कोर्टुवाले तत्काल संन्यास लिने आफ्नो कुनै योजना नरहेको बताए ।

‘अहिले म अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट अलग हुन्छु भन्ने सोच छैन’, उनले भने,म आगामी विश्वकप पनि खेल्न चाहन्छु ।'