इङ्ल्यान्ड

सेनेगलमाथि सहज जितसहित इङ्ल्यान्ड क्वार्टरफाइनलमा

दोहा । ह्यारी केनले प्रतियोगिताकै पहिलो गोल गरेको दिन आइतबार इङ्ल्यान्ड सेनेगलमाथि ३-० को सहज जितसहित कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डले साबिकको विजेता फ्रान्सको सामना गर्नेछ । फ्रान्स आइतबार नै सम्पन्न अर्को खेलमा पोल्यान्डमाथि ३-१ को जितसहित क्वार्टरफाइनल प्रवेश गरेको थियो ।  इङ्ल्यान्ड र फ्रान्सबीचको क्वार्टरफाइनल शनिबार हुनेछ । 

३८औं मिनेटममा जोर्डन हेन्डरसनको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो ।इन्जुरी समयको तेस्रो मिनेटमा केनले इङ्ल्यान्डको अग्रता दोब्बर पारेका थिए । ५७औं मिनेटमा बुकायो साकाले इङ्ल्यान्डको अग्रता बढाएका थिए ।

‘एउटा स्ट्राइकरको भुमिका भनेका टोलीका लागि धेरैभन्दा धेरै गोल गर्ने हो,’ केनले भने, ‘मैले जारी विश्वकपको व्यत्तिगत पहिलो गोलका लागि केही समय पर्खनु पर्यो । फ्रान्सविरुद्धको खेलमा पनि मेरो गोल लयक कायम रहन्छ भन्नेमा आशाबादी छु । टोलीको प्रदर्शन सुधारिँदै गएको छ । यसले टोलीको उपाधि लक्ष्यमा हामी थप अघि बढ्छौ भन्नेमा विश्वस्त छौ ।'