ब्राजिल

कतार विश्वकप नै मेरा लागि अन्तिमः नेइमार

दोहा । ब्राजिलका स्ट्राइकर नेइमारले सन् २०२६ को विश्वकपका लागि टोलीमा स्थान पाउनेमा ढुक्क नभएको भन्दै कतार विश्वकप २०२२ नै आफ्ना लागि अन्तिम हुने संकेत छन् ।

नेइमारको यो तेस्रो विश्वकप सहभागिता हो । सन् २००२ को विजेता ब्राजिलले त्यसयता भने उपाधि जित्न सकेको छैन । नेइमार २० वर्षपछि ब्राजिललाई विश्वकपको उपाधि जिताउन चाहन्छन ।

सन् २०२६ को विश्वकपमा नेइमार ३४ वर्षको हुनेछन । जसका कारण पनि उनी सो विश्वकपका लागि टोलीमा स्थान बनाउनेमा विश्वस्त छैनन् ।

‘कतार विश्वकप मेरा लागि अन्तिम हो भन्ने भावका साथ खेल्नेछु', नेइमारले भने, मैले यसबारे मेरो बुबासँग पनि सल्लाह गरिसके ।भोली के हुन्छ कसैलाई पनि थाहा छैन । म सन् २०२६ को विश्वकप खेल्छु भनेर दाबी गर्न सक्दिन । प्रशिक्षक पनि परिवर्तन हुनेछन् । म अन्तिम सहभागितामा ब्राजिललाई उपाधि दिलाउन चाहन्छु ।’

नेइमारले ब्राजिलबाट एक सय २१ खेलमा ७५ गोल गरेका छन् । उनी पेलेको ७७ गोलको कीर्तिमान बराबरी गर्न मात्र दुई गोलले पछि छन् ।

ब्राजिलले समूह जी मा क्यामरुन, सर्बिया र स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।