नेपाली क्रिकेट

क्यान बोर्ड बैठकः सन्दीप र नेपाल टी२० मुख्य एजेन्डा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को पूर्णकालिन बोर्ड बैठक पोखरामा मंगलबार (आज) बस्दैछ । क्यानले विविधसहित १७ बुदामा एजेन्डा राखेको छ ।  

यद्यपि, आजको कार्यसमितिको बैठक विशेषः दुई बुदामा रहने एक केन्द्रिय सदस्यले खेलाडीलाई बताए । पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने र निकै विवाद बनेको नेपाल टी२० लिगको समिक्षा गर्ने बताइएको छ।

अधिकांश सदस्यहरु सत्तापक्षसँग असन्तुष्टि जनाइरहेको बेला क्यानको बोर्ड बैठक उपत्यका बाहिर हुन लागेको हो । क्यानका सात सदस्यले आइतबारमात्रै अध्यक्षसहित पाँच कार्यसम्पादन समितिका सदस्यको राजीनामा माग गरेका थिए ।

पुस ९ देखि २७ गतेसम्म आयोजना भएको नेपाल टी २० लिगमा स्पट  र म्याच फिक्सिङ, लाइभ बेटिङ, विदेशी खेलाडी श्रमस्विकृत नभएको, खेलाडीले पारिश्रमिक नपाएको, ६ टोलीमध्य दुई टोलीको मालिक सम्पर्कमै नभएको, आयोजकमध्य रणनीतिक तथा व्यापारिक अधिकार पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी मालिक जतिन अहलुवालिया भारत भागेपछि विवाद सतहमा आएको थियो ।

यसैगरी नाबालिक जवरजस्ती करणीको आरोपपछि एक सय दिन थुनामा रहँदै २० लाख धरौटीमा रिहा भएका पूर्व कप्तान सन्दीपको विषयमा छलफल हुनेछ । धरौटीमा रिहा भएपछि क्यान आफैले गरेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा फर्काउने प्रयासमा छ ।

यसैगरी आईसिसी विश्वकप लिग दुई प्रतियोगिता सम्बन्धमा, काठमाडौंमा आयोजना हुने लिग दुई प्रतियोगिता सम्बन्ध, युएईमा आयोजना हुने प्रतियोगिता, आईसिसी विश्वकप यु १९ पुरुष एसिया छनोट, एसिसी प्रिमियर कप काठमाडौंमा आयोजना हुने सम्बन्धमा, संघको वार्षिक साधारण सभा सम्बन्धमा, कार्यसम्पादन समितिको विस्तारसहित १७ बुँदाको एजेन्डामा छलफल हुनेछ ।