बंगलादेश

ट्वान्टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट तमिमको संन्यास

ढाका । बंगलादेशका ओपनर तमिम इकबालले ट्वान्टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । 

तमिमको कप्तानीमा बंगलादेशले शनिबार वेस्ट इन्डिजविरुद्ध तनि एक दिवसीय खेलको शृंखला ३-० ले क्लिन स्विप गरेको थियो । तमिम प्लेयर अफ दी सिरिज समेत भएका थिए ।

‘आजबाट ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग हुने घोषणा गर्दछु । सबैलाई धन्यवाद,’ खेलपछि तमिमले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

तमिमले जनवरीमा ट्वान्टी २० क्रिकेटबाट बाट ६ महिनाको लागि विश्राम लिने घोषणा गरेका थिए । यससँगै विगत ६ महिनादेखी तमिमको ट्वान्टी२० खेलको भविष्यको बारेमा जारी अन्यौलको अन्त्य भएको छ ।

‘म अब टेस्ट र एक दिवसीय खेलमा मात्र केन्द्रित हुन्छु ,’ उनले जनवरी २७ मा भनेका थिए, ‘हामी विश्व टेस्ट च्याम्पियनसिप र एक दिवसीय विश्व कप २०२३ छनोटको तयारीमा छौ । म ट्वान्टी २० क्रिकेटको बारेमा आगामी ६ महिनासम्म सोच्न चाहन्न । ट्वान्टी २० मा सबैले राम्रो प्रदर्शन गर्नेछन्  । तर यदि क्रिकेट बोर्ड र टिमलाई मेरो आवश्यकता परेमा म तयार छु । त्यस बारेमा सोच्नेछु ।’

तमिमले गत वर्ष युएईमा सम्पन्न ट्वान्टी२० विश्वकपबाट समेत नाम फिर्ता लिएका थिए ।

तमिमले पछिल्लो पटक मार्च २०२० मा जिम्बाव्वेविरुद्धको ट्वान्टी२० खेल खेलेका थिए । सो खेलमा उनले ३३ बलमा ४१ रन जोडेका थिए । तमिम सन् २००७ देखी २०१८ सम्म लगातार बंगलादेशको ट्वान्टी२० क्रिकेट टोलीको सदस्य थिए ।

उनले बंगलादेशबाट ७५ ट्वान्टी२० खेल खेलेका छन् । उनले २४.६५ रनको औसतमा एक हजार सात सय एक रन जोडेका छन् ।