महिला एसिया कप

मलेसिया पहिलो पटक एसिया कपमा छनोट

क्वालालम्पुर । एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गतको दोस्रो सेमिफाइनलमा हङकङलाई १२ रनले पराजित गर्दै मलेसिया पहिलो पटक महिला एसिया कपमा छनोट भएको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभल ग्राउन्डमा मलेसियाले दिएको ८७ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ११ ओभरमा आठ विकेट गुमाएर ७४ मात्र बनाउन सक्यो ।

वर्षाले प्रभावित खेल ११ ओभरमा घटाइएको थियो ।

हङकङकी क्यारी चेनले सर्वाधिक १९ रन बनाए । यसबाहेक, मारिको हिलले १२ र यास्मिन दासवानीले १० रन जोडे ।

मलेसियाकी निक नुर अलेइला र सासा अजामीले समान दुई विकेट लिँदा विनिफ्रेड डुराइसिंगमले एक विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङमा आएको मलेसियाले निर्धारित ११ ओभरमा चार विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो ।

मलेसियाकी मास एलिसाले सर्वाधिक ३३ रन बनाएकी थिइन् । यस्तै, विनिफ्रेड डुराइसिंगमले २६ र इल्सा हन्टरले १० रन जोडेकी थिइन् ।

हङकङकी मार्यम बिबीले दुई विकेट लिँदा क्यारी चेनले एक विकेट हात पारेकी थिइन् ।

जितसँगै मलेसियाले च्याम्पियनसिपको उपाधिका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँगको भेट पक्का गरेको छ ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टिम बंगलादेशमा हुने महिला एसिया कपमा छनोट हुने समीकरण थियो ।