विश्वकपमा टिम हाँक्ने ३२ देशका कप्तान

विश्वकप फुटबल २०२२ को २२औं संस्करण नोभेम्बर २१ देखि कतारको दोहामा सुरु हुँदै छ । जसका लागि आयोजक कतारसहित ३२ टिमको नै टुंगो लागिसकेको छ ।

विश्व फुटबलका महान खेलाडीहरू यस प्रतियोगिताका लागि तयारी अवस्थामा छन् ।

स्टार खेलाडी लियोनल मेसीदेखि क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोवस्की अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संघारमा छन् । कति खेलाडीका लागि यो विश्वकप अन्तिम हुनसक्ने भएकाले कप्तानको जिम्मेवारी बहन गर्दै आफ्नो देशलाई विश्वकप उपाधि जिताउन चाहन्छन् ।

विश्वकपका ३२ टिमका कप्तान

१. म्याथ्यु रायन (अस्ट्रेलिया)
क्लब : रियाल सोसिडाड

विश्वकप छनोटको प्लेअफमा पेरुलाई सडनडेथमा पराजित गर्दै विश्वकपमा स्थान बनाएको अस्ट्रेलियाको नेतृत्व गोलकिपर रायनले गर्नेछन् । सन् २०१३ देखि लगातार युरोपेली फुटबल खेलिरहेका अनुभवी गोलकिपर हुन् रायन । रायनसँग आर्सनल, भ्यालेन्सिया, ब्राइटनलगायत ठूला क्लबबाट खेलेको अनुभव पनि छ ।

२. ऐसान हसाफी (इरान)
क्लब : एइके एथेन्स

एसियाली फुटबल महासंघको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने अर्को राष्ट्र इरानको कप्तानी हसाफीले गर्नेछन् । हाल ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेका हसाफी २००६ यता लगातार युरोपेली फुटबलमै छन् । इरानबाट १ सय १९ खेल खेलिसकेका हसाफीले ७ गोलसमेत गरेका छन् ।

३. माया योसिदा (जापान)
क्लब : साम्पडोरिया

साउथह्याम्पटनबाट इंग्लिस प्रिमियर लिग खेलेका ३३ योसिदाले कतारमा हुने विश्वकपमा जापानको नेतृत्व गर्नेछन् । सन् २०१२ देखि २०२० सम्म साउथह्याम्पटनमा बिताएका सेन्टर ब्याक योसिदा त्यसयता इटालियन क्लब साम्पडोरियाबाट खेलिरहेका छन् ।

४. हसन अल-हेदोस (कतार)
क्लब : अल साद

कतारलाई सन् २०१९ मा पहिलो पटक एएफसी एसियन कप च्याम्पियन बनाएका कप्तान हुन् हसन । पहिलो पटक घरेलु मैदानमा हुने विश्वकपमा कतारको कप्तानी उनै हसनले गर्नेछन् । सन् २००७ मा सिनियर फुटबलमा टिममा डेब्यु गरेका हसन २०१६ मा कतारको कप्तान बनेका थिए ।

५. सलमान अल-फराज (साउदी अरेबिया)
क्लब : अल-हिलाल

सन् २०१२ मा साउदीको राष्ट्रिय टिममा डेब्यु गरेका सलमान छिमेकी देशमा हुने विश्वकपमा आफ्नो टिमको कप्तानी गर्नेछन् । साउदीकै अल हिलाल क्लबबाट व्यावसायिक फुटबल खेल्ने ३२ वर्षीय मिडफिल्डर सलमान अनुभवी कप्तान हुन् । उनी २०२० मा साउदीको कप्तान नियुक्त भएका थिए ।

६. सन ह्युङ-मिन (दक्षिण कोरिया)
क्लब : टोटनहम

इंग्लिस क्लब टोटनहमका चर्चित खेलाडी सनले विश्वकपमा दक्षिण कोरियाको नेतृत्व गर्दैछन् । यसअघि रुसमा २०१८ मा भएको विश्वकपमा पनि उनैले कोरियाको नेतृत्व गरेका थिए । सोही विश्वकपको समूह चरणमा साबिक विजेता जर्मनीलाई पराजित गर्दा कोरियाका लागि सनको प्रदर्शन महत्त्वपूर्ण थियो ।

७. भिन्सेन्ट अबुबकर (क्यामरुन)
क्लब : अल नसार

सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको क्यामरुनको आगामी विश्वकपमा अबुबकरले गर्दैछन् । समूह ‘जी’मा परेको क्यामरुनले स्विट्जरल्यान्ड, सर्बिया र ब्राजिलसँग खेल्नेछ । युरोपेली फुटबलको लामो अनुभव बोकेका ३७ वर्षीय डिफेन्डर अबुबकरको सम्भवत: यो अन्तिम विश्वकप हो ।

८. एन्ड्रे एयु (घाना)
क्लब : अल साद

कतारकै क्लब अल सादबाट व्यावसायिक फुटबल खेल्दै आएका एयुले विश्वकपमा घानाको नेतृत्व गर्दैछन् । सन् २०१४ पछि घानाले पहिलो पटक विश्वकप खेल्न लागेको हो ।

९. रोमेन सैस (मोरक्को)
क्लब : उल्भरह्याम्पटन

इंग्लिस क्लब वोल्भसबाट गत सिजन खेलेका प्रभावशाली मिडफिल्डर÷डिफेन्डर सैसले विश्वकपमा मोरक्कोको नेतृत्व गर्दैछन् । फ्रान्समा जन्मिए पनि मोरक्कोबाट खेल्ने निर्णय गरेका सैसको नेतृत्वमा मोरक्कोको यो पहिलो विश्वकप हुनेछ ।

१०. कालिडौ कौलिबाली (सेनेगल)
क्लब : नेपोली

इटालियन क्लब नेपोलीबाट व्यावसायिक फुटबल खेल्दै आएका कौलिबालीले विश्वकपमा सेनेगलको कप्तानी गर्दैछन् । ३१ वर्षीय कौलिबालीकै नेतृत्वमा सेनेगलले गत वर्ष अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो ।

११. युसुफ मसक्नी (ट्युनिसिया)
क्लब : अल दुहेल

कतारकै अल अरबी क्लबबाट गत वर्ष लोनमा व्यावसायिक फुटबल खेलेका मसक्नीको नेतृत्वमा यो वर्ष ट्युनिसियाले विश्वकप खेल्दै छ । ३१ वर्षीय विंगर मसक्नी कतारमै फुटबल खेलिरहेकाले उनको कप्तानीले टिमलाई धेरै फाइदा हुने निश्चित छ ।


१२. अतिबा हचिन्सन (क्यानडा)
क्लब : बेसिक्टास

टर्किस क्लब बेसिक्टासबाट व्यावसायिक फुटबल खेलिरहेका हचिन्सन ३९ वर्षीय अनुभवी मिडफिल्डर हुन् । उनको कप्तानीमा क्यानडा सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो । विश्वकपमा क्यानडाको यो दोस्रो सहभागिता हुनेछ ।

१३. ब्रायन रुइज (कोस्टारिका)
क्लब : अलाजुलेन्स

प्रिमियर लिगमा फुलहमबाट खेल्दा विश्वभर चर्चा कमाएका फरवार्ड रुइजकै कप्तानीमा कोस्टारिकाले दोस्रोपल्ट विश्वकप खेल्दै छ । यसअघि २०१४ मा पनि कोस्टारिकाले उनकै नेतृत्वमा विश्वकप खेलेको थियो ।

१४. आन्द्रेस ग्वार्डाडो (मेक्सिको)
क्लब : रियाल बेटिस

प्रिन्सिपिटोको उपनामले चर्चित मिडफिल्डर ग्वार्डाडोको नेतृत्वमा मेक्सिकोले विश्वकप खेल्दै छ । स्पेनिस फुटबलमा लामो समय बिताएका ग्वार्डाडोले रियाल बेटिस अगाडि डिपोर्टिभो एलाभेसबाट ५ वर्ष स्पेनमा फुटबल खेलेका थिए ।

१५. क्रिस्टियन पुलिसिच (अमेरिका)
क्लब : चेल्सी

अमेरिकाले इंग्लिस क्लब चेल्सीका युवा फरवार्ड पुलिसिचको कप्तानीमा कतारमा हुने विश्वकप खेल्ने छ । जर्मन बुन्डेसलिगाको क्लब डर्टमन्डबाट चेल्सी पुगेका पुलिसिचको नेतृत्वमा अमेरिकाले गत वर्ष कन्काकाफ नेसन्स लिगको उपाधि जितेको थियो ।

१६. लियोनल मेसी (अर्जेन्टिना)
क्लब : पेरिस सेन्ट जर्मेन (पिएसजी)

सन् २०१४ को विश्वकपदेखि अर्जेन्टिनाको नेतृत्व सम्हाल्दै आएका मेसीको नेतृत्वमा अर्जेन्टिनाले सोही संस्करणको विश्वकपमा फाइनलसम्म यात्रा तय गरेको थियो । त्यसयता चार फाइनल खेलेको अर्जेन्टिनाले गत वर्ष महादेशीय च्याम्पियनसिप कोपा अमेरिका जितेको थियो ।

१७. थियागो सिल्भा (ब्राजिल)
क्लब : चेल्सी

सन् २०१९ को कोपा अमेरिकाको उपाधि दिलाएका कप्तान सिल्भाको सम्भवत: यो अन्तिम विश्वकप हुन सक्नेछ । हाल चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेका सिल्भाले सन् २०१३ देखि ब्राजिलको कप्तानी सम्हाल्दै आएका छन् ।

१८. इन्नर भ्यालेन्सिया (इक्वेडर)
क्लब : फेनरवाचे

टर्किस क्लब फेनरवाचेबाट व्यावसायिक फुटबल खेल्दै आएका भ्यालेन्सियाको नेतृत्वमा इक्वेडरले नोभेम्बर-डिसेम्बरमा कतारमा हुने विश्वकप खेल्ने छ । पूर्वकप्तान एन्टोनियो भ्यालेन्सियाले फुटबलबाट संन्यास लिएसँगै इन्नर भ्यालेन्सिया इक्वेडरका कप्तान बनेका थिए ।

१९. डिएगो गोडिन (उरुग्वे)
क्लब : भिलिज सार्सफिल्ड

एथलेटिको मड्रिडमा लामो समय बिताएर अर्जेन्टिनी क्लब सार्सफिल्ड पुगेका गोडिनकै नेतृत्वमा उरुग्वेले कतारमा हुने विश्वकप खेल्दैछ । यसअघि २०१८ को विश्वकपमा पनि उरुग्वेको कप्तानी गोडिनले नै गरेका थिए ।

२०. इडेन हाजार्ड (बेल्जियम)
क्लब : रियाल मड्रिड

सन् २००८ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका हाजार्डले राष्ट्रिय टिमबाट एक सय २० क्याप जितेका छन् । हाजार्डले सन् २०१५ मा बेल्जियमको कप्तानी पाएका थिए ।

२१. लुका मोड्रिच (क्रोएसिया)
क्लब : रियाल मड्रिड

गत संस्करणको विश्वकपमा क्रोएसियालाई फाइनलसम्म डोहोर्याएका मोड्रिचले सन् २००६ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका थिए । मोड्रिचले सन् २०१५ मा क्रोएसियाको कप्तानी पाएका थिए ।

२२. सिमोन कायर (डेनमार्क)
क्लब : एसी मिलान

गर्त वर्ष डेनमार्कलाई सनसनीपूर्ण शैलीमा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्याएका कायरले नै विश्वकपमा पनि देशको कप्तानी गर्नेछन् । इटालियन क्लब एसी मिलानका भरपर्दा डिफेन्डर कायर अनुभवी खेलाडी र कप्तान हुन् ।

२३. ह्यारी केन (इङ्ल्यान्ड)
क्लब : टोटनहम

सन् २०१८ मा रुसमा भएको पछिल्लो विश्वकपका गोल्डेन बुट विजेता केनको कप्तानीमा इंग्ल्यान्डले कतारमा विश्वकप खेल्दै छ । यसअघिको विश्वकप पनि इंग्ल्यान्डले केनकै नेतृत्वमा खेलेको थियो ।

२४. ह्युगो लोरिस (फ्रान्स)
क्लब : टोटनहम

रुसमा भएको विश्वकपमा फ्रान्सलाई च्याम्पियन बनाएका लोरिस नै विश्वकपमा पनि फ्रान्सको कप्तानी गर्दैछन् । इंग्लिस क्लब टोटनहमबाट व्यावसायिक फुटबल खेल्दै आएका लोरिस फ्रान्सका लागि अनुभवी र सफल कप्तान हुन् ।

२५. म्यानुयल नोयर (जर्मनी)
क्लब : बार्यन म्युनिख

सन् २०१४ मा विश्वकपको उपाधि दिलाएका म्यानुयल नोयर पनि संन्यासको संघारमा छन् । सम्भवत: यो विश्वकप नै उनको अन्तिम हुनसक्ने भएकाले नोयर उपाधिसहित जर्मन टिमबाट बिदा लिन चाहन्छन् । नोयरले सन् २००९ मा जर्मनीबाट ‘डेब्यु’ गरेका थिए ।

२६. भर्जिल भान डाइक (नेदरल्यान्ड्स)
क्लब : लिभरपुल

पछिल्लो केही वर्षयता विश्वकै सर्वोत्कृष्ट रक्षकमध्ये एकको रूपमा पहिचान बनाएका भान डाइकले सन् २०१५ मा नेदरल्यान्ड्सबाट ‘डेब्यु’ गरेका थिए । लिभरपुलका महत्त्वपूर्ण सदस्य भान डाइकले २०१८ को मार्चमा नेदरल्यान्ड्सको कप्तानी पाएका थिए ।

२७. रोबर्ट लेवान्डोवस्की (पोल्यान्ड)
क्लब : बायर्न म्युनिख

खेल करियरको उत्तराद्र्धमा पुगेका फरवार्ड लेवान्डोवस्कीको कप्तानीमा पोल्यान्डले सम्भवत: अन्तिम विश्वकप खेल्दै छ । यसअघि रुसमा चार वर्षअघि भएको विश्वकपमा पनि देशको नेतृत्व गरेका लेवान्डोवस्की अनुभवी कप्तान हुन् ।

२८. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
क्लब : म्यानेचस्टर युनाइटेड

सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलका उच्च गोलकर्ता (११७) हुन् । सन् २०१६ मा पोर्चुगललाई युरो कपको उपाधि दिलाएका रोनाल्डोकै नेतृत्वमा २०१९ मा पोर्चुगलले नेसन्स लिग जितेको थियो । रोनाल्डोले २००८ देखि पोर्चुगलको कप्तानी गरिरहेका छन् ।

२९. डुसान टाडिच (सर्बिया)
क्लब : आयाक्स

३३ वर्षीय मिडफिल्डर टाडिचले सन् २००८ देखि सर्बिया राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप छनोटअन्तर्गत वेल्ससँगको खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । यस्तै २०१८ को विश्वकप छनोटअन्तर्गत चार गोल गर्दै टिमलाई समूह विजेता बनाउन उनको महत्त्वपूर्ण भूमिका छ ।  

३०. सर्जियो बुस्केट (स्पेन)
क्लब : बार्सिलोना

सन् २००८ मा युइएफए यु-२१ फुटबल च्याम्पियनसिपको छनोट अन्तर्गत स्विट्जरल्यान्डसँग पहिलो लेगबाट बुस्केटले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले उक्त खेलमा एक गोलसमेत गरे । त्यसपछि ३३ वर्षीय स्पेनिस मिडफिल्डर बुस्केटले २००९ मा भएको इंग्ल्यान्डसँगको मैत्रीपूर्ण खेलबाट सिनियर टिममा डेब्यु गरेका हुन् ।

सन् २०१५ मा मेसीको अनुपस्थितिमा पहिलो पटक बार्सिलोनाको कप्तानी सम्हालेका बुस्केटले मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि नेतृत्व सम्हाल्दै आएका छन् । उनले बार्सिलोनाबाट ६ सय खेल खेलिसकेका छन् । नोभेम्बर-डिसेम्बरमा हुने विश्वकपमा स्पेनको कप्तानी उनै बुस्केटले गर्नेछन् ।

३१. ग्रेनिट जाका (स्विट्जरल्यान्ड)
क्लब : आर्सनल

२९ वर्षीय मिडफिल्डर जाकाले सन् २०१६ देखि आर्सनलबाट खेल्दै आएका छन् । उनले सन् २०११ देखि स्विट्जरल्यान्डको राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै आएका छन् । जाकाले सन् २०१९ बाट स्विस टिमको कप्तानी सम्हालेका थिए । विश्वकपमा पनि स्विस टिमको कप्तानी उनले नै गर्नेछन् ।

३२. गारेथ बेल (वेल्स)
क्लब : ....

सन् २००६ देखि राष्ट्रिय टिममा परेका ३२ वर्षीय फरवार्ड बेलले लामो समयदेखि वेल्सको कप्तानी सम्हाल्दै आएका छन् ।  २०२१-२२ को सिजन सकिएपछि रियाल मड्रिड छाड्ने निर्णय लिएका बेल हाल क्लबविहीन छन् । सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको वेल्सले बेलकै कप्तानीमा कतारमा हुने विश्वकप खेल्दै छ ।