त्रिदेशीय ट्वान्टी २० श्रृंखला

पिएनजीको फाइनल सम्भावना कायमै

काठमाडौं । मलेसियामाथि आठ विकेटले पराजित गर्दै पपुवा न्यु गिनी (पिएनजी) ले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलाको फाइनल पुग्ने सम्भावन जिवित राखेको छ ।

शनिबार नेपालले मलेसियालाई पराजित गरे पिएनजीले फाइलनमा स्थान बनाउने छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय ९७ रनको लक्ष्य पिएनजीले १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

पिएनजीको सानदार जितमा टोनी उराले सर्वाधिक ८६ रन बनाए । उनले ३४ बलमा दुई चौका र १० छक्का प्रहार गरे । यस्तै, कप्तान असद भालाले ७४ रन बनाए । उनले ५१ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यसबाहेक, चार्ल्स एमिनीले २८ रन बनाए ।

मलेसियाका मुहम्मद वफिक र स्याजरुल इद्रिसले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रनको योगफल तयार गरेको थियो ।

मलेसियका सेद अजिजले सर्वाधिक ६४ रन जोड्दा कप्तान अहमेद फैजले ६३ रन बनाएका थिए । यसबाहेक, जुबैदी जुल्किफ्लेले ४६ र विरन्दीप सिंहले १० रन जोडे ।

पिएनजीका काबुअ मोरेआले सर्वाधिक चार विकेट लिँदा रिले हाकुरे र चाड सोपरले समान एक विकेट लिए ।

पिएनजीले शृंखलाअन्तर्गत नेपालविरुद्धको दुबै खेल हार्दा मलेसियासँग पहिलो खेलमा पनि पराजित भएको थियो ।

यस्तै, पिएजनीलाई पहिलो खेलमा हराएको मलेसिया दोस्रो खेलमा भने नेपालसँग ६ विकेटले पराजित भएको थियो ।