शारिरीक सुगठन

व्यायाम मन्दिरको संघर्ष र धर्मश्रीको चटारो

काठमाडौं । बलियो शरीर, स्वस्थ मानसिकता र अनुशासनले मात्र कुनै एक खेलाडीलाई सफलताको शिखरमा पुर्‍याउन सक्छ । सबै खेलाडीका लागि शारीरिक व्यायाम अनिवार्य हो । तर नेपालमा भने शारीरिक सुगठन खेललाई न खेलकुद मन्त्रालय न त खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै त्यति मान्यता दिएको छ ।

राजधानी सहरको ज्याठामा नेपाल व्यायाम मन्दिर छ । जहाँ दैनिक करिब तीन देखि चार सय जना नियमिय व्यायामका लागि जान्छन् । नेपालमा जिम हल स्थापनाको श्रेय बोकेको व्यायाम मन्दिरमा अहिले १६औं धर्मश्रीको चटारो परिरहेको छ । यो सहिद धर्मभक्त माथेमाको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिता हो । शारीरिक सुगठनको प्रतिष्ठित र स्तरीय प्रतियोगिता हो धर्मश्री ।

प्रत्येक दुई वर्षमा धर्मश्री आयोजना हुँदै आएको थियो । तर, कोभिड १९ महामारीका कारण दुई पटक प्रतियोगिताको मिति घोषणा गरे पनि आयोजना गर्न नसकिएको व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान बताउँछन् ।

अहिले कोरोनाबाट जनजीविन सामान्य बनिसकेको छ । त्यसैले व्यायाम मन्दिरले प्रतियोगिता गर्ने आँट गरेको छ । वैशाख २३ र २४ का लागि १६औं धर्मश्री आयोजना गर्ने घोषणा गरेको छ । यसपालि पुरुष र महिला फिजिक्स इभेन्ट थप गरिएको छ ।

प्रतियोगिताको तयारीमा जुटिरहेको प्रधानले बताए । यस खेलको बढ्दो आकर्षणका कारण हामीले यसपालि विदेशमा यो प्रतियोगिता लैजाने योजना बनाए पनि प्राविधिक कारणले सम्भव नभएको उनले सुनाए । यस संस्करणमा पुरस्कार रकममा दोब्बर वृद्धि भएको छ । विजेताले नै १० लाख रुपैयाँ पाउनेछन् । अध्यक्ष प्रधानले भने, ‘हामीले नेपाली खेलकुद क्षेत्रमा लामो इतिहास बोकेका छौं । त्यसैले यो धेरै रकम भए पनि प्रतिबद्धतामा मात्र सीमित पार्दैनौं ।’

खेलाडीहरूको वर्षौंको मिहिनेतलाई सम्मान गर्ने उद्देश्य रहेको प्रधान बताउँछन् ।  उनले भने, ‘खेलाडीहरूले यो खेलमा वर्षौं मिहिनेत गरेर पसिना बगाइरहेका छन् र लगानी पनि धेरै गर्छन् । हामीले दिएको पुरस्कार रकम खेलाडीले यहाँसम्म आइपुग्न खर्चिएको रकमभन्दा सानो होला तर धर्मश्री विजेताको पहिचान उनीहरूका लागि विशेष उपलब्धि हो ।’

त्यसो त प्रधानले व्यायाम मन्दिरको नेतृत्व सम्हालेको पनि झन्डै २३ वर्ष भइसकेको छ । तर उनले अझै उही जोस र जाँगरका साथ काम गरिरहेका छन् । नेपाल व्यायाय मन्दिरले आफ्नै जग्गामा सर्दाको संघर्षलाई सम्झना भने प्रधान अझै भावुक हुन्छन् ।

नेपाल व्यायाम मन्दिर २०१० सालमा स्थापना भएको हो । सुरुमा खिचापोखरी र क्षेत्रपाटीमा जग्गा भाडामा लिएर व्यायाम मन्दिर सुरु भएको हो । उनले भने, ‘अहिले हामी ज्याठा आइपुगेका छौं । हाम्रा अग्रजले क्लबलाई जग्गा चाहियो भनेर सुदर्शन शमशेरमार्फत बहादुर शमशेरसम्म पुग्नुपर्‍यो । त्यसपछि नेपाल व्यायाम मन्दिरका लागि जग्गा प्राप्त भयो । तर भोगचलनका लागि भने लामो संघर्ष गर्नुपर्‍यो ।’

व्यायाम मन्दिरका लागि बहादुर शमशेरले आफ्नो भागको जग्गा भोगचलनका लागि उपलब्ध गराए । तर जो व्यक्ति उक्त प्रस्तावसाथ बहादुर शमशेरकहाँ पुगेका थिए । ‘उनीहरूले नै मालपोत कार्यालयको प्रमुखको मिलेमतोमा जग्गा आफ्नो नाममा गराउँदै मिसिल नै गायब गराएपछि धेरै कठिनाइ भयो,’ प्रधान सम्झन्छन्, ‘उक्त जग्गा द्वारिका दास र लोक विलासको नाममा नामसारी भएको रहेछ । उहाँहरूले त्यो जग्गाका बारेमा सबैलाई गुमराहमा राखे । पछि मन्दिरका एक सदस्यका बुवाले बहादुर शमशेरले जग्गा दिइसकेको बताएपछि मात्र हामी जग्गाको खोजीमा लाग्यो । त्यो २०३८–४० सालतिरको कुरा थियो ।’

त्यसपछि बार लगाउने काम भयो । तर जग्गा क्लबको नाममा हो वा होइन भनेर पत्ता लगाउन दैनिकजसो मालपोत जाने तर मिसिल भेटिएन भनेर फर्काइने गरेको प्रधान बताउँछन् । उनले सुनाए, ‘रिसले कहिलेकाहीं त त्यहाँका कर्मचारीमाथि हामीले हातपातसमेत गर्‍यौं । अञ्चलाधीशले मिसिल झिकाउन आदेश दिएपछि मात्र कर्मचारीले मिसिल झिके । तर २०४६ सालको जनआन्दोलनका क्रममा अञ्चलाधीशको कार्यालय जलेपछि मन्दिरको नामको लाजपुर्जा पनि जल्यो ।’
सुरुआती दिनमा छ्वालीले छाएको टहराबाट सुरु भएको व्यायाम मन्दिरको नाममा उक्त जग्गा आएको ११ वर्षमात्र भएको छ ।

प्रधानले जग्गा प्राप्तिको कहानी सुनाए, ‘संस्थालाई दिइएको जग्गा उहाँहरूले आफ्नो नाममा गरिसक्नुभएको रहेछ । हामीलाई प्रलोभन दिने काम भयो । अन्त कतै हामीलाई १० देखि १५ रोपनी जग्गा उपलब्ध गराउँछौं, त्यहाँको दाबी छोड्न भनियो । तर हामी आफ्नो अडानबाट पछि हटेनौं । जुन प्रयोजनका लागि त्यो जग्गा दिइएको थियो, त्यही प्रयोजनका लागि प्रयोगमा आउनुपर्‍यो भन्ने हो । मैले २०५५ सालमा अध्यक्ष भएर आएपछि द्वारिकादासको मृत्यु भइसकेका कारण श्रीमती अम्बिका श्रेष्ठलाई पत्र काँटे । उहाँ सहजै जग्गा दिन सहमत भए पनि बिचौलियाको मिलेमतोले हामीलाई जग्गा संस्थाको नाममा ल्याउन लामो समय पर्खनुपर्‍यो । मलाई जग्गा छोड्न ८० लाख रुपैयाँको समेत प्रस्ताव गरियो । प्रेमबहादुर खपांगी मालपोत कार्यालयको हाकिम भएर आएपछि उहाँले लामो अन्योलताको अन्त्य गर्दैै संस्थाको जग्गा संस्थालाई नै जाने व्यक्तिलाई होइन भनेर निर्णय गरिदिनुभयो । २०६७ सालमा व्यायाम मन्दिरको नाममा लालपुर्जा बन्यो ।’

अहिले आधुनिक जिमहलका साथ व्यायाम मन्दिर सुसज्जित छ । आफूहरूको लक्ष्य सफल खेलाडी उत्पादन गर्ने उद्देश्य रहे पनि सरोकारवाला निकायको ध्यान नजाँदा मन खिन्न हुने प्रधानको तर्क छ ।

२०५० सालबाट धर्मश्रीको सुरुआत भएको हो । सुरुआती दुई संस्करणमा तौल समूहका विजेतामात्र पुरस्कृत हुन्थे । अहिलेको अवस्थामा आइपुग्दा शारीरिक सुगठन र धर्मश्रीप्रति खेलाडीको बढ्दो आकर्षण छ । खेलाडीहरूले जिमहल सञ्चालन गरेर होस् या प्रशिक्षण दिएर सहज रूपमा जीविकोपार्जन गरिरहेको प्रधान सुनाउँछन् ।

कोभिड–१९ महामारीले जिमहललाई नराम्रो अवसर पुर्‍यायो । सरकारले दोहोरीसाँझ, डान्सबार, रेस्टुरेन्टकै वर्गमा राखेर जिम हललाई पनि वर्षौंसम्म सञ्चालनमा रोक लगायो । अध्यक्ष प्रधान भन्छन्, ‘स्वस्थ बन्ने अनि व्यायाम गर्ने अवसरबाट सबैलाई वञ्चित गराउनु निश्चय पनि न्यायोचित थिएन । सरकारले यस खेलप्रति उचित ध्यान दिनुपर्छ भन्ने हाम्रो माग छ ।’

धर्मश्री विजेताहरूको अनुभव

जीवन गिरी (छैटौं संस्करण): जीवन २०५५ सालमा सम्पन्न छैटौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताका विजेता हुन् । विद्यालयकालदेखि नै खेलकुदमा रुचि भएका जीवन जुडोप्रति बढी आकर्षित थिए । आफूसँगैका साथीहरू ‘वेट लिफ्टििङ’ गर्न जाने भएकाले जीवन पनि जाने गर्दथे । त्यसपछि मात्र उनलाई शारीरिक सुगठनप्रति आकर्षण जाग्यो ।

‘मलाई मेरी आमाले पाखुरामा गाँठागुठी बनाएर भविष्यमा के गरेर खान्छन् भन्नुहुन्थ्यो,’ जीवन सम्झन्छन्, ‘तर मैले यो खेलप्रतिको मोह त्याग्न सकिनँ । कपिलवस्तुमा सुविधासम्पन्न जिमहलको व्यवस्था थिएन । २०५५ सालमा छैटौं धर्मश्रीको उपाधि जितें । मैले त्यो बेला ३० हजार जितेको थिएँ । म त्यसलगत्तै वैदेशिक रोजगारीका लागि साउदी अरेबिया र बहराइन गएँ । म जिम इन्स्ट्रक्टरको रूपमा गएको थिएँ । मैले १५ वर्ष त्यहाँ बिताएँ । जीवन राम्रो चलिरहेको छ । आर्थिक रूपमा सबल हुन मलाई यो खेलले धेरै मद्दत गरेको छ ।’

अर्जुन बडुवाल (१४औं संस्करण): १४औं धर्मश्रीका विजेता अर्जुन बडुवाल धर्मश्रीको विजेता भएपछि आफ्नो जीवनमा धेरै परिवर्तन आएको सुनाउँछन् । सातौं संस्करणबाट मैले प्रतियोगितामा भाग लिन थालेको हुँ । तर म कहिले दोस्रो र तेस्रो स्थानमा रहन्थें । २०७३ सालमा भने धर्मश्री विजेता बने । यो खेलमा लागेर सफलता मिलेको त्यो क्षण म बिर्सन सक्दिनँ । मैले यसका लागि २० वर्ष खर्चिएँ । त्यही खेलले मलाई चिनायो । सबैले सम्मान गर्नुहुन्छ । आफैंले जिमहल सञ्चालन गरिरहेको छु । आर्थिक पाटो पनि सरल रूपमा चलिरहेको छ । मैले धर्मश्री जितेवापत साढे २ लाख प्राप्त गरेको थिएँ । त्यो धेरै रकम होइन तर हामीले त्यसपछि पाउने चर्चा र पहिचानले धेरै अर्थ राख्छ ।’

मिलन सिजापति (१५औं संस्करण): १५औं धर्मश्री विजेता मिलन सिजापति आफूलाई यो प्रतियोगिताका सबैभन्दा भाग्यमानी खेलाडी ठान्छन् । कारण उनी कहिल्यै पनि आफ्नो तौल समूहमा शीर्षस्थानमा रहेर धर्मश्रीलाई छनोट नै हुँदैनथिए । आफ्नो तौल समूहमा छैटौं वा सातौं स्थानमा रहने मिलन २०७५ सालमा आफ्नो तौल समूहको विजेता बन्दै धर्र्मश्री प्रतिस्पर्धाका लागि छनोट भए । जतिबेला उनी विजेता नै बने ।

‘शारीरिक सुगठनमा लाग्ने खेलाडीका लागि धर्मश्री विजेता बन्नु ओलम्पिकमा स्वर्ण पदक जितेसरह हो,’ मिलन माछन्, ‘खेलाडीले वर्षौंको मिहिनेत र लगानी गरेका हुन्छन् । सबैका लागि यो ठूलो सपना हो । यसबाट पहिचान मिल्छ । तर त्यो पहिचान जोगाइराख्न भने कठिन छ । यसमा लगानी पनि ठूलो चाहिन्छ । यो खेलमा लागिसकेपछि जीवनयापनमा भने धेरै सहज हुने गरेको मैले पाएको छु ।’