आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

पिएनजीविरुद्ध आरिफको अर्धशतक

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध नेपालका ब्याटर आरिफ शेखले अर्धशतक बनाएका छन् ।

नेपालबाट सातौं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका आरिफले ८० बलमा दुई चौकासहित ५० रन पूरा गरे ।

यसअघि नेपालका रोहितकुमार पौडेलले पनि ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । रोहित ८२ बलमा चौका चौकासहित ५८ रन बनाएर पभेलियन फर्किए ।

रोहित र आरिफले पाँचौ विकेटका लागि एक सय दुई रनको साझेदारी गरेका थिए । एक समय ४२ रनमा चार विकेट गुमाएको नेपालको इनिङ यी दुई ब्याटरले उकासेका थिए ।

त्यसअघि नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई एक, दोस्रोको रुपमा ज्ञानेन्द्र मल्ललाई चार, तेस्रोको रुपमा आशिफ शेखलाई १६ र चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई आठ रनमा गुमाएको थियो ।

पिएनजीले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले ४०.३ ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनाएको थियो ।