द इलिट फाइटर

‘द इलिट फाइटर’ प्रो बक्सिङ चैत १० मा हुने

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘द इलिट फाइटर’ प्रोफेसनल बक्सिङ चैत १० गते काठमाडौंमा हुने भएको छ । काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा दिउँसो २ बजेदेखि हुने नेपाल, भारत र बंगलादेशका व्यावसायिक बक्सरसमेत सहभागी हुनेछन् ।

नेपालमा बक्सिङको लोकप्रियता बढाउने र व्यावसायिक बनाउने लक्ष्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक म्याक्स बक्सिङ प्रोमोसनले जानकारी दिएको छ ।

‘नेपालमै पहिलो पटक हुन लागेको प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका फाइटरहरू सहभागी हुनेछन्,’ म्याक्स बक्सिङका अध्यक्ष मुक्ती थापाले भने, ‘बक्सिङको व्यावसायिकता बढाउन र प्रोफेसनल बक्सिङको लोकप्रियता बढाउनका लागि पनि हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’

म्याक्स बक्सिङले करिब ५० लाख बजेट जुटाएर गर्न लागेको प्रतियोगिताका लागि नेपाल प्रोफेसनल बक्सिङ कमिसन, वर्ल्ड बक्सिङ अर्गनाइजेसन लगायतको सहयोग रहेको उनले बताए ।

सन् २०१६ मा नेपालबाट बक्सर उत्पादन गरेर अन्तर्राष्ट्रिय स्तरमा खेल्न लैजाने उद्देश्यसहित म्याक्स बक्सिङको स्थापना भएको थापाले बताए ।

‘हामीले पहिलो पटक भएकाले यसपाली ६१ केजी तौल समूह (लाइट वेट)को विजेतालाई ६० हजार, सुपर लाइट समूहको विजेतालाई ४० हजार र प्रत्येक सहभागी बक्सरलाई २०/२० हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरेका छौं । प्रत्येक २/३ महिनामा फाइट आयोजना गर्दै जाने र पुरस्कार राशीमा पनि वृद्धि गर्ने लक्ष्य छ,’ थापाले भने ।