एलपीएल-६

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग ६ः शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग ६ (एलपिएल) अन्तर्गत साेमबार भएका दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ विजयी भएका छन् ।

आज भएको पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३३ रन बनायो । जवाफी ब्याटिङ थालेको एभरेस्ट एकेडेमीले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर एक सय रनमात्रै बनाउन सक्यो ।

एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनुबाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहेन ।  बलिङतर्फ शारदाका अर्जुन सिंह साउदले चार ओभर बलिङ गर्दै १४ रन दिएर महत्त्वपूर्ण चार विकेट लिए । उसका मिलन बोहराले दुई, विकास सुनार, हेमन्त धामी र राजेश साउदले समान एक/एक विकेट लिए ।

यसअघि शारदाका लागि हेमन्त धामीले २५ बलमा दुई छक्का र तीन चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भए । गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ र सुनिल चन्दले १३ रन बनाए ।  बलिङतर्फ एभरेस्टका कृश ऐरले चार ओभरमा तीन महत्त्वपूर्ण विकेट लिँदै ११ रन दिए । आकाश चन्द र धर्म जोशीले समान दुई/दुई विकेट लिँदा गोविन्द विष्ट र मुकेश ओझा एक÷एक विकेट लिन सफल भए ।  

खेलको प्लेयर अफ दी म्याच हेमन्त धामी घोषित भए । सर्वाधिक छक्काको अवार्ड हेमन्तले नै पाउँदा गेमचेन्जर अवार्ड अर्जुन सिंह साउदले पाए । 

आजै भएको दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले लगातार तेस्रो जित दर्ता गरेको छ । सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित गर्दै हिमालयनले शानदार जित दर्ता गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुलले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय ६ रनको विशाल योगफल तयार पा¥यो ।

दुई सय सात रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सैनिकले १५.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो ।

सैनिकका लागि प्रज्वल थापाले ३६, खडक बोहराले २२, कमलेश विष्टले १३ र सागर चन्दले ११ रन बनाए ।  

हिमालयनका दीपक बोहरा (जुनियर)ले चार ओभर बलिङ गर्दै १ मेडनसहित २० रन दिएर महत्त्वपूर्ण ५ विकेट लिए । अनुप कुँवरले ४ र सन्दीप शाहीले १ विकेट लिए ।

यसअघि हिमालयनका लागि कप्तान नारायण जोशीले ११ छक्का र चार चौकाको मद्दतले ३२ बलमै ९२ रनको इनिङ पारी खेलेका थिए । यस्तै, वसन्त सिंह कार्कीले २९ बलमा ४७, लक्की कडायत र एमएस थापाले समान १६, दीपक बोहराले १२ रन बनाएर आउट हुँदा रजत तिमिल्सिना १० रनमा अविजित रहे ।  

बलिङतर्फ सैनिकका गौतम केसीले दुई, कमलेस विष्ट, सैलेश बम, सागर चन्द, खडक बोहरा र आकाश चन्दले समान एक विकेट लिए ।

खेलको प्लेयर आफ दी म्याच नारायण जोशी घोषित हुँदा गेम चेन्जर अवार्ड दीपक बोहरा (जुनियर)ले पाए ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार पहिलो खेलमा बिहान ९ः३० बजे लिटल फ्लावर र गुरुकुल आमनेसामने हुनेछन् । दोस्रो खेलमा दिउसो १ः३० बजे विद्या भूषण र स्टेपिङ स्टोन भिड्नेछन् ।