सन्दीप लामिछाने

युएईविरुद्ध जितका लागि भोकाएका छौं: कप्तान सन्दीप

काठमाडौं । क्यानाडामाथि आठ विकेटको सहज जित हासिल गर्दै आइसिसी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)सँगको भेट पक्का गरेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले टोलीमा विश्वकप खेल्ने भोक बढेको बताएका छन् ।

युएईविरुद्धको खेल निक्कै कठिन हुने बुझेका नेपाली कप्तानले आफूहरु त्यसका लागि तयार रहेको प्रतिक्रिया दिए ।

‘एसोसिएटका दुई चिरप्रतिद्वन्द्वी नेपाल र युएईबीचको खेल दुवै टोलीका लागि कठिन हुनेछ,’ कप्तान सन्दीपले भने, ‘हामीलाई पनि युएईको खेल शैलीबारे धेरै कुरा थाहा छ, र हामी पनि उनीहरूको धेरै पक्षबारे जानकार छौं । दुवै टोलीका लागि मौका छ । त्यो विशेष दिनमा जसले राम्रो प्रदर्शन गर्छ, उसैले जित्छ ।’

आफ्नो कप्तानीमा पहिलो पटक नेपाललाई ट्वान्टी २० अन्तर्राष्ट्रिय भ्रमणमा लिएर निस्किएका सन्दीपले बलिङ र ब्याटिङ दुवै पक्षमा सुधार भइरहेको बताए ।

क्यानडाविरुद्धको जितमाथि प्रतिक्रिया दिँदै सन्दीपले तीव्र गतिका बलरहरू– कमलसिंह ऐरी र अविनाश बोहरालाई सफलताको श्रेय दिए ।

उनले भने, ‘कमलको लयलाई मध्यक्रममा स्पीन तथा अन्तमा अविनाशले निरन्तरता दिए । खासमा त्यो उत्कृष्ट टिमवर्कको नमुना थियो । बलरहरूले बनाएको मजबुत आधारमा ब्याटरहरूले पनि राम्रो योगदान गरे । दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको साझेदारीले ब्याटरहरू पनि राम्रो गरिरहेका छन् भन्ने सावित गरेको छ । हामी टिमवर्ककै कारणले यहाँसम्म आइपुगेका छौं । हाम्रो यात्रामा सबैको योगदान छ ।’

भोलि हुने सेमिफाइनलमा नेपालले जितका लागि कुनै कसर बाँकी नराख्ने कप्तान सन्दीपले बताए ।

‘भोलिको खेलका लागि हामी उचित योजना बनाउने छौं, र मैदानमा सबैले आ–आफ्ना तर्फबाट सतप्रतिशत दिनेछौं,’ ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक प्लेयर अफ दी म्याच बनेका सन्दीपले थपे, ‘हामी मानसिकरूपमा तयार छौं र जितका लागि भोकाएका छौं । भोलिको नतिजाले विश्वकप खेल्ने र नखेल्ने निर्धारण गर्ने भएकाले जितका लागि हामी सबैले सतप्रतिशत दिन तयार छौं ।’