चारदेशीय ट्वान्टी २० शृंखला

युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

मस्कट । ओपरन ब्याटर चिराग सुरीले अर्धशतकीय इनिङ खेलपछि चारदेशीय शृंखलाअन्तर्गतको दोस्रो खेलमा सयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु एक सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गर्यो ।

युएईका ओपनर सुरीले अविजित सर्वाधिक ८४ रन बनाए । सुरीले ५३ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहन मुस्तफाले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ४९ रन बनाए । सुरी र मुस्तफाले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।

यसबाहेक युएईका मुहम्मद वसिमले २२, र वसिल हमेदले १७ रन र मोहम्मद बुटाले १४ जोडे ।

नेपालका कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।

यसअघि नेपालले शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । शृंखलामा युएईको भने यो पहिलो खेल हो ।

शृंखलाअन्तर्गत शनिबारै हुने अर्को खेलमा ओमानले आयरल्यान्डको सामान गर्दैछ ।