बिग बास लिग

हुरिकेन्सको जितमा सन्दीपकाे तीन विकेट

क्यानबेरा । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्सले बिग बास लिग (बिबिएल) मा मेलबर्न रेनेगाडेसमाथि ८५ रनको सानदार जित निकालेको छ ।

हुरिकेन्सको जितमा नेपाली कप्तान सन्दीपले तीन विकेट लिए । डकल्यान्ड्स रंगशालामा दुई सय सात रनको लक्ष्य पछ्याएको रेनेगाडेस १५.५ ओभरमा एक सय २१ रनमा समेटियो ।

रेनेगाडेसका साम हार्परले ५७ रन बनाए । त्यस्तै जेक फ्रसेरले २१ र रिसे टोप्लेले १४ रन जोडे । हुरिकेन्सबाट सन्दीप र टम रोजर्सले समान तीन विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दिपले ३२ रन खर्चिए ।

टस हारेपछि पहिलो इनिङमा ब्याटिङको निम्तो पाएको हुरिकेन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ६ रनको योगफल तयार पारेको थियो ।

ओपनर बेन मेकडरमोटले सतकीय इनिङ खेलेपछि हुरिकेन्सले विशाल योगफल तयार गरेको थियो । आक्रामक रूपमा प्रस्तुत भएका मेकडरमोटले ६५ बलमा समान नौ चौका र छक्कासहित एक सय २७ रन बनाएका थिए । यस्तै टिम डेभिडले ३०, पिटर ह्यान्डसकम्बले २४ र ह्यारी ब्रुकले ११ रन जोडे ।