आइपिएल

गुजराजविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा गुजरात टाइटन्सले जम्मा १४ रन बनाएपछि दिल्ली क्यापिटल्सले ४ रनको रोमाञ्चक जित निकालेको छ । बुधबार राति क्रिजमा रहेका रसिद खानले अन्तिम ओभर लिएर आएका मुकेश कुमारलाई दुई चौका र एक छक्कामात्रै हानेका थिए ।

१९औं ओभरमा गुजराजले १८ रन जोड्दै जित सम्भावना कायम राखेको थियो । तर, अन्तिम ओभरमा गुजरातले आशा अनुरुप रन निकाल्न सकेन ।

यसअघि सुरुआती ब्याटिङ गरेको दिल्लीले चार विकेट गुमाएर दुई सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा गुजरातले आठ विकेट गुमाएर मात्र दुई सय २० रन बनाएको हो ।

आइपिएलको ४०औं खेलपछि दुबै टोलीको समान ८ अंक रहेको छ । नेट रनरेटका आधारमा दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् । १४ अंक जोडेको राजस्थान शीर्ष स्थानमा छ ।

गुजरातको इनिङ्समा साइ सुदर्शनले ३९ बलमा सात चौका र दुई छक्कासहित ६५ रन बनाए । डेविड मिलरले २३ बलमा ६ चौका र तीन छक्कासहित ५५ रनको योगदान गरे । ऋद्धिमान शाहले ३९, रसिद खानले २१ र साइ किशोरले १३ रनको योगदान गरे ।

दोस्रो किवेटको लागि शाह र सुदर्शनबीच ४९ बलमा ८२ रनको साझेदारी भएको थियो । बलिङतर्फ रासिख सलामले सर्वाधिक तीन र कुलदीप यादवले २ विकेट लिए ।

यसअघि घरेलु टोली दिल्लीले टस हारेर ब्याटिङ गरेको थियो । कप्तान ऋषभ पन्तले ४३ बलमा अविजित सर्वाधिक ८८ रन बनाएका हुन् । उनले पाँच चौका र ८ छक्का प्रहार गरे । अक्षर पटेलले ६६ तथा ज्याक फ्रासेसले २३, ट्रिस्टन स्टुब्सले २६ रन जोडे ।

पटेल र पन्तबीच ६८ बलमा एक सय १३ रनको साझेदारी गरेका हुन् । गुजरातका सन्दीप वारिअरले सर्वाधिक तीन किवेट लिएका थिए ।