आइसिसी सुपर लिग

जनवरीमा श्रीलंकाले जिम्बाबेसँग एकदिवसीय शृंखला खेल्ने

कोलम्बो । आइसिसी सुपर लिगको रुपमा श्रीलंकाले जनवरीमा जिम्बाबेसँग तीन एकदिवसीय खेलको शृंखला आयोजना गर्ने भएको छ ।

जनवरी १६, १८ र २१ मा खेलिने तीनै खेल दिवा–रात्री सत्रमा खेलिने छ ।

तीनै खेल श्रीलंकाको पलेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

१३ टोली सम्मिलित सुपर लिगमा श्रीलंका तालिकाको छैटौं स्थानमा छ । श्रीलंकाले लिगमा १५ खेलमध्ये चार खेलमा जित निकालेको छ ।

त्यस्तै लिगका नौ खेलमध्ये दुईमा जित निकालेको जिम्बाबे तालिकाको पुछारमा छ ।

सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको सुपर लिगका शीर्ष आठ टोलीले सोझै विश्वकपको टिकट काट्ने छन् ।

बाँकी पाँच टोलीले भने अन्य पाँच एसोसिएट टोलीसँग छनोट प्रतियोगिता खेल्नेछन् । छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

सुपर लिगमा जिम्बाबेले पछिल्लो पटक आयरल्यान्डविरुद्व तीन एकदिवसीय खेलको शृंखला खेलेको थियो । जुन १–१ को बराबरीमा सकिएको थियो ।

यस्तै श्रीलंकाले भने लिगअन्तर्गत पछिल्लो तीन एकदिवसीय खेलको शृंखलामा दक्षिण अफ्रिकालाई २–१ ले हराएको थियो ।