पिएम कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगिता

महावीरको विजयी सुरुआत


काठमाडौं । महावीर एसएएएले केसीटीसीलाई सात विकेटले पराजित गर्दै पिएम कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगितामा विजय सुरुआत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा केसीटीसीले प्रस्तुत गरेकोे ९२ रनको लक्ष्य महावीरले १२.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा  गर्यो । 

महावीरका लागि बिभात्सु थापाले २४ बलमा सर्वाधिक ३० रन बनाए । यस्तै    सुमन उदयले २६ रन, रविन जोशीले २० र उज्वल थापाले आठ रन जोडे ।

केसीटीसीका राकेश चौरासियाले दुई र मनिसकुमार साहनीले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको केसीटीसीले १९.५ ओभरमा सबै  विकेट गुमाउँदै ९१ रनको  योगफल खडा गरेको थियो ।

केसीटीसीका लागि मदनराज उपध्यायले २३ बलमा सर्वाधिक २० रन बनाए । यस्तै कस्मिर ओलीले १९ र शिवकुमार राजभरले १६ रन बनाए ।

महावीरका उज्वलले चार विकेट लिँदा प्रतिस जिसीले तीन र चन्द्रकुमार बुढा र दिपेन्द्र मैनालीले समान एक विकेट लिए ।

खेलको प्लेअर अफ दी म्याच महावीरका उज्वल घोषित भए ।