यू–१९ एसिया कप क्रिकेट

यस पटक हामी सहभागितामा मात्र सीमित हुँदैनौः प्रशिक्षक शाही

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्न यूएई जाने  नेपाली टोलीको बिदाई गरेको छ ।
नेपाली टोली आज राती १०ः३० बजे यूएई प्रस्थान गर्नेछ । 

मुख्य प्रशिक्षक वसन्त शाहीले देव खनालको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरिसकेका छन् । 
प्रशिक्षक शाहीले अघिल्लो सहभागिता जस्तै यस पटक सहभातिामा मात्रै सिमित नरहने विश्वास व्यक्त गरे । उनले भर्खरै सम्पन्न राष्ट्रिय यू–१९ प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट भएकाले एसियन कपमा पनि राम्रो नतिजा आउनेमा विश्वास व्यक्त गरेका हुन् । 

‘राष्ट्रिय प्रतियोगिताले उमेर समूहको उत्कृष्ट टिम बनाउन धेरै मद्दत गरेको छ । यसअघि नेपाली सबै जसो टोलीमा ब्याटिङ समस्या सधैको रोग बन्दै आएको थियो । तर, यसपटक भने बलिङमा केही काम गर्नु पर्नेछ,’ प्रशिक्षक शाहीले भने, ‘राष्ट्रिय प्रतियोगितामा जसरी खेलाडीले शतक, अर्धशतक बनाएका थिए । एसियन कपमा पनि खेलाडीबाट त्यहि प्रदर्शन देख्न पाउने विश्वास लिएको छु । यसपटक हाम्रो सहभागितामा मात्रै सिमित रहने छैन् ।’

कप्तान देव खनालले पनि नेपाली टोलीको कप्तानी गर्न पाउँदा निकै खुसी भएको बताए । उनले भने, ‘नेपाली टोलीको कप्तानी गर्नु पाउनु मेरा लागि सौभाग्य हो । यसलाई मैले दबाब भन्दा पनि अवसरका रुपमा लिएको छु । टिम राम्रो बनेको छ । तर, धेरै जसो खेलाडीमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छैन् । तर पनि राम्रो खेलेर फर्किने छौं ।’

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रि महेश्वरजंग गहतराज र क्यानका अध्यक्ष चतुरबाहादुर चन्दले प्रतियोगिताको सफलताका लागि शुभकामना दिए । 

प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले पुस ८ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल ११ गते श्रीलंका र समूहको अन्तिम खेल १३ गते कुवेतसँग खेल्नेछ ।