एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

उपाधि रक्षा गर्नेमा विश्वस्त छौंः कप्तान अरुणा शाही

काठमाडौं ।  नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकाको सामना गर्दा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेकी छिन् ।

‘लिग हो सबै टोलीले सबैसँग खेल्नैपर्छ । उनीहरुको टोली राम्रो भएको होला तर हाम्रो पनि सन्तुलित टोली छ,' अरुणाले बंगलादेश जानुअघि खेलाडीसँगको कुराकानीमा भनिन्, 'दुवैको पहिलो खेल हो,दुवै टोली जितसहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छन् ।आफ्नो सतप्रतिशत दिएर खेल्छौ । स्वर्ण पदक जित्ने लक्ष्यका साथ बंगलादेश जान लागेका छौ, जितेरै आउनेछौ ।’

बंगलादेशको ढाकामा मंगलबारदेखि हुने च्याम्पियनसिपमा महिला टोलीले आफ्नो पहिलो खेलमा बिहीबार श्रीलंकाको सामना गर्नेछ ।

प्रतियोगिताको लागि नेपाली महिला तथा पुरुष टोली  विमान बंगलादेशबाट दिउँसो १२ः१५ बजे प्रस्थान गरिसकेको छ ।

साविक विजेता महिला टोलीले यसअघि बंगलादेशमा नै भएको सेन्ट्रल जोनको पहिलो संस्करणमा अपराजित रहँदै फाइनलमा माल्दिभ्सलाई ३–० ले हराएर ऐतिहासिक उपाधि उचालेको थियो ।

यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि महिला टोलीले श्रीलंकालाई सजिलै हराएको थियो ।

टोलीका प्रशिक्षक जगदीश भट्टले भने, ‘हामीले दुई दिन प्रशिक्षण गर्ने समय छ । त्यसबिचमा हाम्रो टोलीले त्यहाँको वातावरणसँग घुलमिल हुन्छन् र खेलको लागि तयारी गर्छाै । पहिला पनि जितेका थियौ, यसपटक पनि जित्नेछौ ।’

नेपाली महिला टोलीले दोस्रो खेलमा माल्दिभ्स, तेस्रोमा आयोजक बंगलादेश, चौथो खेलमा उज्वेकिस्तान र पाँचौ खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।