इन्डियन प्रिमियर लिग

राजस्थानले पञ्जावलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा शनिबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले पञ्जाव किङ्सलाई तीन विकेटले हराएको छ । यो जितपछि राजस्थानले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । राजस्थानले ६ खेलबाट १० अंक जोडेको हो ।

पञ्जाव ६ खेलबाट चार अंकसहित आठौँ स्थानमा छ । राजस्थानले खेलेको ६ खेलमा मात्र एक खेलमा पराजित भएको छ ।

आइपिएलको २७औं खेलमा पञ्जावले सुरुवाती ब्याटिङ गर्दै आठ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । प्रत्युत्तरमा राजस्थानले १९.५ ओभरमा सात विकेट गुमाउँदै जित निकालेको हो ।

राजस्थानलाई जित दिलाउन ओपनर यसश्वी जैसवालले सर्वाधिक ३९ रन बनाए । अर्का सिमरोन हेटमेरले २७, टानुस काटिआनले २४, रियान परागले २३ र कप्तान सन्जु सामसनले १८ रनको योगदान गरेका हुन् । पञ्जावका कागिसो रवाडा र साम करनले समान दुई विकेट लिए ।

यसअघि पञ्जावले टस हारेर सुरुवाती ब्याटिङ गरेको थियो । आशुतोष शर्माले सर्वाधिक ३१ रन बनाए । जितेश शर्माले २९, लिआम लिभिङस्टोनले २१को योगदान गरेका थिए । राजस्थानका आभेस खान र केशव महराजले समान दुई विकेट लिएका हुन् ।